ललितपुर– ललितपुरको कोतडाँडामा सोमबारदेखि सुरु भएको तीनदिने ‘लैङ्गिक तथा जलवायु न्यायका लागि युवा शिविर’ तालिम सम्पन्न भएको छ।
युथ एड्भोकेसी नेपालले राष्ट्रिय मानव अधिकार आयोग, केओस फाउन्डेसन तथा आएम स्विडिस डेभेलपमेन्ट पार्टनरको सहकार्यमा विभिन्न क्षेत्रबाट सहभागी भएका ३० जना युवाहरुलाई लैङ्गिक तथा जलवायु न्यायको विषयमा प्रशिक्षण गर्न तालिम सञ्चालन गरेको थियो।
जलवायु तथा लैङ्गक न्यायको अवधारणा, न्याय प्राप्तिमा युवाको भूमिका, मानवअधिकार र जलवायु न्यायको सम्बन्ध, जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संयन्त्र लगायतका विषयगत मुद्दामा सहभागीहरुले प्रशिक्षण प्राप्त गरेका थिए। तालिम अवधिका सञ्चालन भएको विभिन्न सत्रहरुलाई दीपा वली, केसब दाहाल, दीपेन्द्र सिंह, विनय कार्की लागयतका प्रशिक्षकहरुले सहजीकरण गरेका थिए।
समापन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कार्यबाहक सचिव मुरारीप्रसाद खरेलले जलवायु परिवर्तनले सबैभन्दा बढी महिला तथा सिमान्तकृत नागरिकहरुमा प्रभाव पारेको बताए। सिमान्तकृत नागरिकको मानवअधिकार संरक्षण गर्नका लागि जलवायु परिवर्तनसँग जुध्नुको विकल्प नभएको खरेलको जोड थियो।
पृथ्वीको तापक्रमलाई सन् २१०० भित्रमा १.५ डिग्रीमा सिमित गर्न हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरुले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडाले बताए। युवा मानवअधिकार रक्षकहरुले जलवायु न्यायको सुनिश्चिता गर्नका लागि स्थानीय स्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म डिस्कोर्ष सुरुवात गर्नुपर्ने खतिवडाको जिकिर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।