काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले भ्रष्टाचारको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गाल, इञ्जिनियर अभिषेक दास र सव इञ्जिनियर विज्ञान चम्लागाईलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुसँग २२ लाख नौ हजार आठ सय २३ दशमलव ४० रकम अतिरिक्त भुक्तानी दिँदै अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शन्तमाया सुब्बा लिम्बूले कार्यसम्पन्न भएको झुट्टा बिल पेस गरी २ लाख नौ हजार आठ सय २३ दशमलव ४० पैसा गैरकानुनी भुक्तानी लिएको अख्तियारले बताएको छ।
झापा गाउँपालिकाका अध्यक्ष साहले उपभोक्ता समितिलाई वास्तविकभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ। प्रतिवादी सवैलाई विगो अनुसार जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय हुनुपर्ने माग आरोपपत्रमा गरिएको छ।
गाउँपालिकाका तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी अनुगमन तथा सुपरीवेक्षण समितिको संयोजक रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लेखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरी प्राविधिक मूल्यांकनअनुसारको रकम उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको दाबी अभियोगपत्रमा छ।
आयोगले गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बाँनिया, वडा–७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा–३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेशलाई पनि प्रतिवादी बनाएको छ। उनीहरु अनुगमन तथा सुपरीवेक्षण समितिमा रहेका थिए। उनीहरुले निर्माण नै नभएको योजना सम्पन्न भइसकेको भनी निर्णय गरेको र भुक्तानी दिन सिफारिस गरेको दाबी अभियोगपत्रमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।