काठमाडौं– सरकारसँग लम्पीस्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरुले धर्नासमेत दिन थालेका छन्।
बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न दबाब स्वरुप एक घण्टा धर्ना दिएका हुन्। यो रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरुले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नुपरेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताइन्।
उनले पशुपालक किसानहरुले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘तुरुन्त यो रोगको नियन्त्रण गर्नुपर्यो। र, पशुपालक किसानहरुलाई राहत दिनुपर्यो। विस्थापित हुन लागेका किसानहरुलाई पुनर्स्थापना गर्नुपर्यो। जुन कर्जा लिएर गरिराख्नु भएको छ। उहाँहरुलाई कर्जा मिनाहा गर्नु पर्यो। पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्नुपर्यो। र, प्राविधिक चाँही किसानका घरघरमा पुग्नुपर्यो। पशु व्यवसाय गरिरहेका किसानलाई सुलभ कर्जाको व्यवस्था सरकारले उपलक्ध गराउनुपर्छ भन्ने लगायत मागहरु राखेर हामी आन्दोलनमा उत्रिरहेका छौं।’
पीडित किसानहरुले मरेका पशुहरुको बीमा रकमको भुक्तानी गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताएका छन्। लम्पीस्किन महामारीका कारण विस्थापित किसानहरुको पुनर्स्थापना र उनीहरुका लागि बीमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ, काठमाडौंका इन्चार्ज पुस्कर प्याकुरेलले बताए।
उनले सो रोग नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था मिलाउन पनि सरकारसँग गरे। प्याकुरेलले भने, ‘ग्रामीण क्षेत्रका किसानहरु यतिबेला पूरै आहत भएका छन्। ७० प्रतिशतभन्दा बढी पशु चौपायहरु लम्पीस्किनको कारण मरिसकेका छन्। त्यसका निम्ति पशुको बीमा पनि क्लेम गर्न नसक्ने अवस्था देखिएको छ। र, पशु चौपायहरुको बीमाको पनि हामीले क्लेम गरिराखेका छौं। छिट्टै यो महामारी रोग नियन्त्रणका निम्ति भ्याक्सिनको माग हामीले गरिराखेका छौं। पशुको औषधि उपचारका कुरा, बीमाका कुरा र पशुपालक किसानहरुको विस्थापित हुने अवस्था छ। त्यसलाई पनि निरुपण गर्ने हिसाबले राज्यले सोचोस भन्ने ढंगले हामीले यो महामारीविरुद्ध किसान सञ्जालको आयोजनामा धर्ना कार्यक्रम राखेका हौं।’
राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा आह्वान गरिएको धर्नामा लम्पीस्किन रोगको महामारी नियन्त्रण गरी ‘पीडित किसानलाई राहतको घोषणा गर, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लागत संकलन गरियोस्, पशुहरुमा लागेको लम्पीस्किन रोगको महामारी नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था गरियोस्, महामारीबाट क्षति भएका पशुहरुको किसानलाई राहत र क्षतिपूर्ति दिइयोस्, लम्पीस्किन रोगको महामारीबाट मरेका पशुहरुको वास्तविक लगत संकलन गरियोस्’ भन्ने लेखिएको प्ले कार्डहरु पनि प्रदर्शन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।