काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति पुगेको जनाएको छ। माओवादी केन्द्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दाहालको निधनले सिंगो पार्टी स्तब्ध भएको उल्लेख गरेको छ।
‘दाहालले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेलेको योगदानको उच्च सम्मान गर्दै सिंगो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो। २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध दाहाल जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार रहेकी विज्ञप्तिमा उल्लेख छ।
पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्। पछिल्लो उनी पार्किन्सन जस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आएको कुरा विज्ञप्तिमा जनाइएको छ।
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।