काठमाडौं– पत्रकार तथा लेखक नवीन अर्यालको नेपाली खेलकुद इतिहासमाथि लेखिएको पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक भएको छ।
दुई दशकदेखि खेल पत्रकारितामा सक्रिय अर्यालको पुस्तक मंगलबार सार्वजनिक भएको हो। पुस्तकमा अर्यालले खेल इतिहासका रोचक प्रसंग र सन्दर्भ उजागर गरेका छन्।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनकी अध्यक्ष रेणु शाह, प्राध्यापक पी खरेल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार काठमाडौंमा संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।
अर्यालले पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि हालसम्मका खेल इतिहासका घटनाक्रम समेटेका छन्। उनले खेल इतिहासलाई शिलशिलाबद्ध रुपमा पढ्न चाहने पाठकका लागि यो पुस्तक महत्त्वपूर्ण हुने उनले अपेक्षा गरेका छन्।
खेलकुदमन्त्री लिम्बूले पुस्तकमा नेपाली खेलकुदको विकासक्रमबारे गहन अध्ययन समेटिएको टिप्पणी गरे। यसले सरकारलाईसमेत मार्गदर्शन गर्ने उनको भनाइ थियो। अर्यालको पुस्तक क्रिएटिभ बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।