काठमाडौं- मंगलबार मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएका ६ मध्ये चार जनाको शव काठमाडौं पठाइएको छ।
दुर्घटनास्थल परिसरमै रहेका लिखु पिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाका अनुसार, दुइटा शव भने सोही क्षेत्रमा छ।
'चार वटा शव हेलिकोप्टरले लगिसक्यो। दुइटा बाँकी छ', नेपाल लाइभसँगको टेलिफोन कुराकानीमा उनले भने, 'शव तल हेलिकल्पर भएको ठाउँमा ल्याउँदाल्याउँदै कुइरो लाग्न थाल्यो। त्यसैले हेलिकोप्टर चार वटा शव बोकेर उडिहाल्यो।'
उद्धार र सहयोगका लागि काठमाडौंबाट पठाइएको हेलिकोप्टर घटनास्थलमा पुग्न नसेकपछि केही तल राखिएका थिए। सो क्षेत्रमा कुइरो लाग्ने र खुल्ने भइरहेको शेर्पाले बताए।
बाँकी दुइटा शव भने बुधबार मात्रै काठमाडौं पठाइन सक्ने उनको आकलन छ।
मंगलबार बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको 9N AMV कलसाइन रहेको हेलिकोप्टर दुर्घटनामा परेको थियो।
सो हेलिकोप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरमा अन्तिम पटक सम्पर्क भएको र तत्पश्चात् सम्पर्कमा आउन सकेको थिएन। सम्पर्कविहीन भएको हेलिकोप्टर खोजीका लागि सम्भावित क्षेत्रमा अल्टिच्युड एयरको दुई वटा हेलिकोप्टर तथा नेपाली सेना र नेपाल प्रहरीका जवान समेत परिचालन गरिएको थियो।
पछि लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। दुर्घटनाग्रस्त हेलिकप्टरबारे स्थानीयले खबर सम्प्रेषण थिए।
दुर्घटनामा परेको सो हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए। उनीहरु सबैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङ छन्। त्यस्तै मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।