काठमाडौं– प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवामा प्रक्रिया अघि बढ्न लागेसँगै पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)हरु हाबी हुन थालेका छन्।
नेता तथा उच्च तहका सरकारी पदाधिकारीको सुरक्षामा खटिएका पीएसओहरु हाबी हुँदा यसअघिका बढुवामा पनि वरिष्ठता मिचिँदै आएको थियो। आफूभन्दा सिनियर ब्याचका अधिकृतहरुलाई उछिनेर यसअघि जुनियर ब्याचका पीएसओहरु बढुवामा पर्ने गरेका थिए। यसपटक पनि सोही प्रवृत्तिलाई निरन्तरता दिने गरी पीएसओहरु बढुवाका लागि शक्ति केन्द्रमार्फत् गृहमन्त्रालयसम्म पुगेका पाइएको छ।
प्रहरीमा अहिले ३७ इन्सपेक्टरको पद रिक्त छ। अबको केही दिनमै प्रहरी प्रधान कार्यालयले बढुवा निकाल्ने तयारी गरेको छ। इन्सपेक्टर बढुवाका लागि प्रहरी महानिरीक्षक (आईजी) को संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव, आईजीले तोकेका १ जना एआईजी तथा डीआईजी सदस्य सचिव रहने बढुवा समिति हुने व्यवस्था छ।
समितिले केही दिनमै बढुवाको प्रक्रिया अघि बढाउन तयारी थालेपछि बढुवा हुनका लागि नेता तथा उच्च पदस्थका पीएसओहरु लबिइङमा लागेका छन्। बढुवा लागि भन्दै शक्तिकेन्द्रमार्फत् २६ जना पीएसओको सूची गृहमन्त्रीको टेबलमा पुगेको छ।
उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले २६ जना पीएसओको सूची आफूकहाँ आएको बताएका छन्।
असार २२ गते बिहान हात्तीवनस्थित आफ्नो निजी निवासमा गृह तथा सुरक्षा मामिलाका पत्रकारहरुसँगको अन्तर्क्रियामा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्। ‘इन्सपेक्टरको रिक्त दरबन्दी ३७ छ। २६ पीएसओको नाम मकहाँ आएको छ,’ गृहमन्त्री श्रेष्ठले भनेका थिए, ‘यस्तो पनि कहिँ हुन्छ? पीएसओ भएकै कारण बढुवा हुनुपर्ने होर?’
पावर र पहुँचका भरमा यसअघि पीएसओहरु बढुवा भए पनि अब भने त्यस्तो नहुने मन्त्री श्रेष्ठले दाबी गरे। ‘राम्रो भएकाले कार्यसम्पादनमा अब्बल छ भने पीएसओ भए पनि बढुवा हुन्छ, अरु भए पनि बढुवा हुन्छ। तर पीएसओ भएकै कारण पहुँचको भरमा बढुवा हुन्छु भनेर अब कसैले नसोच्दा हुन्छ’ गृहन्त्री श्रेष्ठको भनाइ थियो।
प्रहरीका सरुवा बढुवामा हुने चलखेल समेत आफूले न्यूनीकरण गरेको मन्त्री श्रेष्ठले दाबी गरे। पैसाका आधारमा हुने सरुवा बढुवालाई अहिले शून्यमा झारिएको पनि उनले दाबी गरे।
‘यसअघि पैसाको भरमा प्रहरीका सरुवा बढुवा हुने गरेको भन्ने सुनिन्थ्यो। म दाबाका साथ भन्छु अहिले त्यसलाई शून्यमा झारिएको छ। १ रुपैयाँ बिनै सरुवा बढुवा हुन्छ,’ गृहमन्त्री श्रेष्ठले भने।
पीएसओ सधैं हाबी
प्रहरीभित्र हुने सरुवा बढुवामा पीएसओहरु सँधै हाबी हुने गरेको देखिन्छ। १ वर्षअघि २०७९ असारमा भएको डीएसपीबाट एसपी बढुवामा पनि पीएसओहरु हाबी भएका थिए। आफूभन्दा अघिल्लो ब्याचका डीएसपीलाई समेत उछिन्दै कांग्रेस सभापति शेरबहादुर देउवाका पीएसपी कोमल शाह आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा भएका थिए।
२०६१ सालमा इन्सपेक्टरमा भर्ना भएका शाह डीएसपीमा भने २५औं नम्बरमा थिए। एसपी बढुवामा छलाङ मार्दै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा आए। उनै शाहलाई त्यसको केही समयमै आकर्षक मानिएको पर्सा जिल्लाको कमाण्ड दिइएको थियो।
त्यतिबेला पहिलो नम्बरमा अपिलराज बोहरा, दोस्रो नम्बरका गौतम केसी, बसुन्धरा खड्काहरु भने बढुवामै छुटेका थिए।
यसअघि पनि देउवाकै पीएसओले सईबाट इन्सपेक्टर बढुवामा छलाङ मारेका थिए।
२०६० सालमा असईमा भर्ना भएका सईहरुलाई उछिन्दै २०६३ मा असईमा भर्ना भएका देउवाका पीएसओ हिमालय शाह २०७८ साउनमा इन्सपेक्टरमा बढुवा भएका थिए।
त्यतिबेला उनीसँगै माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका पीएसओ डबलबहादुर बम पनि छलाङ मार्दै बढुवा भएका थिए। पछि उनीहरुले आकर्षक पोस्टिङ पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।