काठमाडौं- बारामा प्रहरी र नगरपालिकाबीच द्वन्द्व देखिएको छ। बाराको पचरौता नगरपालिका र जिल्ला प्रहरी कार्यालय बाराबीचको टकराव अहिले सतहमा आएको छ।
सोमबार पचरौता नगरपालिकाले विज्ञप्ति निकाल्दै प्रहरीमाथि विभिन्न आरोप लगाएपछि त्यसको मंगलबार जिल्ला प्रहरी कार्यालयमा पनि विज्ञप्ति निकाल्दै प्रतिवाद गरेको छ। यता नगरपालिकाले प्रहरीको कदमको विरोध गर्दै आजै (मंगलबार) बाट सबै वडाहरुबाट दिइने सेवा, स्वास्थ्य चौकी र नगर अस्पताल समेत बन्द गराएको छ।
नगरपालिकाले निकालेको विज्ञप्ति अनुसार यो घटना असार १० गतेबाट सुरु भएको हो। नगरपालिकामा कार्यरत कर्मारीहरुलाई धाक-धम्की दिई गाली गर्दै हातपात गर्ने र कम्प्युटर, प्रिन्टर समेत तोडफोड भएको थियो। तोडफोड गर्ने व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही गर्नुको साटो प्रहरीले उल्टै कर्मचारीलाई झुटो आरोप लगाई फसाउने षड्यन्त्र गरेको दाबी विज्ञप्तिमा गरिएको छ।
विज्ञप्तिमा बाराका एसपी होबिन्द्र बोगटीको नाम उल्लेख गर्दै सोमबार साढे ११ बजे बर्दिधारी र सादा पोशाकका प्रहरी नगरपालिकाको कार्यालयभित्र प्रवेश गरी कर्मचारीलाई धाक-धम्की दिँदै सोधपुछ गरेकोले आत्मसम्मानमा चोट पुगेको भन्दै घटनामा संलग्न व्यक्तिलाई कारबाही नगरेसम्म सेवा ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसको सम्पूर्ण जिम्मेवार एसपी बोगटी हुनुपर्ने भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
नगरपालिकाको विज्ञप्तिको प्रतिवाद गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालयले पनि विज्ञप्ति निकालेको छ। नगरपालिकाले निकालेको उक्त विज्ञप्तिले जिल्ला प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ।
‘नगरपालिकामा भएका कुनै पनि घटनाका सम्बन्धमा यस कार्यालयका प्रमुखलाई जानकारी समेत नदिएको, थाहा नभएको’ बाराका प्रहरी प्रवक्ता तथा इन्सपेक्टर रुपेश शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। बरु नगरपालिकाले भनेको असार १० गते नभई १२ गतेको केही घटनाबारे भने प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ।
‘असार १२ गते राति सोही नगरपालिकाको ७ नम्बर वडास्थित सडकमा स्थानीय कुशेश्वर साह बानियालाई मोटरसाइकल रोकी ४/५ जनाको समूहले कुटपिट गरी घाइते बनाएको, सोही पालिकाका एक जना वडाध्यक्षको मोबाइल खोसिएको जाहेरीको परेको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नगरपालिकाको सामाजिक भत्ता वितरणमा शान्ति सुरक्षाका लागि पत्रसाथ अनुरोध गरेपछि असार २५ गते प्रहरी चौकी पचरौताबाट असईको कमाण्डमा खटिएको टोलीले कानुन कार्यान्वयन गराउने सिलसिलामा घटनामा संलग्न व्यक्तिको सम्बन्धमा सोधपुछ गरेको विषयलाई लिएर नगरपालिकाले भ्रम फैलाउने हिसाबले निकालेको विज्ञप्तिमाथि गम्भीर ध्यानाकर्षण भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।