काठमाडौं– विभिन्न मितिमा हराएका २१ वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका ५ सय वटा सवारी साधन चालू आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। अवैध रुपमा नेपाल भित्रिएका ९५ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात कार्यालय पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।
चालू आर्थिक वर्षमै चोरीका २ पाङ्ग्रे ३२ वटा सवारी साधनसहित चोरीमा संलग्न ३६ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजग हुनुपर्ने उनले बताए।
सवारी चालक थप जिम्मेवार बनि सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरू अबलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न एसएसपी राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।