काठमाडौं– ‘पशुपति प्रसाद २– भष्मे डन’को पनि अन्तर्राष्ट्रिय रिलिज तय भएको छ। निर्माण टिमले सोमबार एक विज्ञप्ति मार्फत् रिलिज तय भएको जानकरी दिएको हो।
चलचित्र निर्माता कम्पनी टुकी आर्टस् र सेभेन सीज प्रालि बीच फिल्मको अन्तर्राष्ट्रिय रिलिजसम्बन्धि सम्झौता भएको छ। जसअनुसार सेभेन सीजले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सिनेमा चेनहरु रेगल सिनेमा, सिने मार्क रिडिङ, सिनेमा सिनेपोलिस लगायतका इन्डिपेन्डेन्ट हलहरुमा एक हजारदेखि बाह्र सय शो गर्ने निधो भएको छ।
त्यस्तै क्यानडामा १ सय ५० शो, बेलायतका विभिन्न सिनेमा चेनहरुमा पाँच सय शो, अष्ट्रेलियाका विभिन्न शहरहरुमा पाँच सय शो र मध्यपूर्वका विभिन्न देशका विभिन्न सिनेमा चेनहरूमा ७ सय ५० शो गर्ने तयारी भइरहेको छ।
त्यस्तै जापानको युएनए इन्टरटेन्टमेन्टका उज्ज्वल गुरागाईंका अनुसार अहिलेसम्म नेपाली चलचित्र नै प्रदर्शन नभएका जापानका सहररूहरू होक्काइदो नारा र नागोयाको मीडल्याण्ड स्क्वायर सिनेमामा लगभग एक सय शोको तयारी भइरहेको छ।
निर्माण टिमका अनुसार यूरोपका विभिन्न देशहरूमा ५० शो गर्ने तयारी भइरहेको छ। त्यसैगरी इण्डिया, कोरिया, मलेशिया, इराक, हडकडमा पनि फिल्म प्रदर्शन हुनेछ।
फिल्म दशैंको फुलपातीको दिन प्रदर्शन हुने निर्माण टिमले जनाएको छ। ‘नेपाली सिनेमाको इतिहासमा सायद पशुपति प्रसाद २ भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुनेछ। यो कुराले समग्रमा नेपाली चलचित्र उद्योगलाई नै माथि उठाउन राम्रो भूमिका खेल्ने कुरामा दुईमत छैन,’ टुकी आर्ट्स्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन्। फिल्ममा अभिनेता विपीन कार्की भष्मे डनको अवतारमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।