काठमाडौं- वैदिशक रोजगारीमा गएका कामदाहरुलाई प्रयोग गरी सुन तस्करी गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। यो प्रकरणमा संलग्न चार लेअरका ११ जना व्यक्तिलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय सुनिल कुमार महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय दिनेश कुमार यादव, कपिलवस्तुको सुद्धोधन नगरपालिका–६ का २३ वर्षीय सन्तु गुलाम मुराउ, धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश पंजियार, बाँकेको राप्ती सोनारी–५ का ३६ वर्षीय भुमबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय विनोद कुमार साह, सोही नगरपालिका–१ का ३५ वर्षीया सन्जु कुमारी साह, सोही नगरपालिका–६ का २२ वर्षीय दुर्गाप्रसाद यादव, सप्तरीको बोदिबर्साइन–१ का २८ वर्षीय देवानन्द साह, सिरहाको लहान–४ का शिव सुनदर राउत, सिरहाको धनगढी–३ का २३ वर्षीय मोहनकुमार यादव र सर्लाही फरहथवाका ५६ वर्षीय निमाइ साह छन्।
काठमाडौं, सिरहा र सप्तरीबाट आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ।
वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन लागेकाहरुलाई ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म दिएर सुन बोकाएर पठाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले बताए।
यो प्रकरणमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको होटल हिमालय स्पायरका सञ्चालक समेतलाई पक्राउ गरेको छ। होटल सञ्चालक विनोश शाह र उनकी श्रमती सन्जु शाह समातिएका हुन्।
गिरोहले एउटै फ्लाइटमा २० जनासम्मलाई सुन बोकाएर नेपाल पठाउने गरेको समेत पाइएको छ। आइतबार मात्रै नेपाल एयरलाइन्स र कतार एयरलाइन्सबाट काठमाडौं आएका ५ जना नेपाली कामदारलाई विमानस्थल बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो। उनीहरुले जनही ५८ ग्राम बराबरको सुनको सिक्री ल्याएका थिए।
कतारमा रहेको गिरोहले होटल सञ्चालक दम्पतीलाई सुन र भरियाको हुलिया सहितको फोटा मोबाइलमा पठाउने गरेको र त्यसपछि उनीहरुले सुन रिसिभ गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
विनोदको बैंक खातामा मात्र ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ र श्रीमती सन्जुको बैंक खातामा २ करोड १० लाख २७ हजार ४ सय ९७ रुपैयाँ कारोबार भएको पाइएको छ।
शाह दम्पतीले सुनको पैसा रितेश जनरल स्टोर्स नामक कम्पनी सञ्चालक सिरहाका शिवसुन्दर राउतको खातामा पठाउने गरेको अनुसन्धानबाट खुलेको छ।
राउतको कम्पनी रितेश जनरल स्टोर्सको खातामा १ अर्ब ८१ करोड ५७ लाख १९ हजार ५७ रुपैयाँ र राउतको व्यक्तिगत खातामा १२ करोड ११ लाख ४२ हजार ४०८ रुपैयाँ कारोबार भएको देखिएको प्रहरीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।