काठमाडौं– सौतेनी आमाको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ३९ वर्षिया मीरादेवी भगतको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले भारतको बेतिया जिल्ला नरकटियागञ्जका २० वर्षीय प्रेम भगतलाई पक्राउ गरेको हो।
भगतको परिवार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ स्थित शिवनगरमा डेरा गरी बस्दै आइरहेका थिए। सुरुमा मिराले आफँै आगो लगाई आत्महत्या गरेको भनिए पनि पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रेमले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
सौतेनी आमासँग विवाद भएपछि प्रेमले चिरपट प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए। असार २३ गते शनिबार बिहान प्रेमले मीरासँग खाना माग्दा बासी भात दिएको भन्दै होटेलमै खान जान्छु, यहाँ खान्न भनेर बाहिर जान खोजेपछि आफूलाई गाली गर्दा विवाद भएको प्रेमले प्रहरी समक्ष बयान दिएको खड्काले बताए।
एनका अनुसार बुवाको नाम लिएर अनावश्यक गाली गर्न लागेपछि आफूले सौतेनी आमालाई धक्का दिएको र आफूमाथि चिरपटले प्रहार गर्न खोजेपछि सोही चिरपट खोसेर पिठ्यँुमा हान्न खोज्दा टाउकोमा लागेर तत्काल मृत्यु भएको प्रहरी समक्ष बयान दिएका छन्।
चिरपट प्रहारबाट घटनास्थलमै मीराको मृत्यु भएपछि प्रेमले घरमै आगो लगाएर शव जलाएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।