काठमाडौं- तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष ६ महिना कैद फैसला सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो।
यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। अदालतले कुँवरलाई रु ६ लाख जरिवाना र रु १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ।
निज अभियुक्तविरुद्ध विसं २०७८ असार ८ गते परिवर्तित नाम २०७७/७८ ट कुमारी वादीद्वारा तनहुँ जिल्ला अदालतमा जबरर्जस्ती करणी मुद्दा दर्ता भएको थियो। १४ वर्षीया बालिकालाई विसं २०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो। अभियुक्तले बालिकालाई विसं २०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।