काठमाडौं– शनिबार बिहान करिब ८ बजे।
कलङ्की चोकमा हामी चन्द्रागिरी जाने बसको पर्खाइमा थियौँ। कालीमाटी तर्फबाट बागमती प्रदेश–०१००६ ख ५४०५ नम्बरको साझा यातायातको बिजुली बस चोकमा आइपुग्यो। हामी उक्त बसमा चढ्यौँ। सीट पूरै भरिएकाले केही यात्रु भने उभिएका थिए।
बसको भित्तामा लेखिएको थियो, ‘कृपया टिकट लिएर यात्रा गर्नुहोला।’ यो साझा यातायातका सबै बसमा लेखिएको हुन्छ। यात्रुसँग भाडा लिएर टिकट दिने नियम साझा यातायातको छ।
ढुङ्गेअड्डामा ओर्लने एक यात्रुसँग सहचालकले भाडा मागे। कालीमाटीबाट चढेका ती यात्रुले २५ रुपैयाँ तिरे। तर सहचालकले ती यात्रुलाई टिकट दिएनन्। ढुङ्गेअड्डामा बस रोकिएपछि यात्रु झरे।
सहचालकले टिकट नलिएको देखेपछि पछिल्लो सिटमा बसेकी एक महिला यात्रुले सोधिन्, ‘गाडीको भित्तामा टिकट लिएर यात्रा गर्नुहोला लेखिएको छ। यो भाइले त टिकट नदिइ पठाउने रहेछ। अघि जाने मान्छेलाई टिकट लिनपर्छ भन्ने थाहा रहेनछ। मलाई त चाहिन्छ।’
नैकाप पुगेपछि दुई यात्रु ओर्लिए। ती यात्रुसँग पनि सहचालकले भाडा लिए, तर टिकट दिएनन्।
ठाउँ ठाउँमा यात्रुहरू झर्ने र चढ्ने क्रम भइरह्यो। तर चालकले न कुनै यात्रुलाई टिकट दिए, न कुनै यात्रुले मागे। बस चेकपोष्टनिर पुग्यो। त्यहाँ १० जना यात्रु ओर्लिए।
सहचालकले कलंकीदेखि चेकपोष्टसम्मको प्रतिव्यक्ति भाडा २५ रुपैयाँ लिए। केही यात्रुले विद्यार्थी परिचयपत्र देखाए। उनीहरूको २० रुपैयाँ लिए। एक यात्रुले भने, ‘विद्यार्थी परिचय पत्र हुँदा १५ रुपैयाँ हो। ५ रुपैयाँ फिर्ता दिनुस्।’
सहचालकले भने, ‘कार्ड छुट हुँदा साझा यातायातको भाडा २० रुपैयाँ लाग्छ।’ काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्मको दुरीमा सार्वजनिक यातायातको भाडा जेठ ११ गतेदेखि सरकारले १९ रुपैयाँ तोकेको छ। तर उक्त बसमा ५ किलोमिटरसम्मको भाडा सहचालकले २५ रुपैयाँ लिए।
टिकट माग्ने यात्रुहरूलाई पनि सहचालकले दिन मानेनन्। टिकट माग्ने यात्रुहरूलाई उनीहरूको जवाफ थियो, ‘टिकट अघि नै च्यातिसक्यौँ। च्यातेर फाल्ने हो, हामीले राख्ने होइन।’ सह–चालकको तर्कचाहिँ थियो, ‘ यदि टिकट दिए त्यही टिकट अर्को ठाउँमा पनि देखाउँछन्,’ चालकले भने।
‘टिकटमा नम्बर हुन्छ, कसरी त्यही टिकट अर्को पटक देखाउँछ? यो त तपाईंहरूले दिएपछि पो देखाउने हो,’ एक यात्रुले भने।
तर सहचालकले उही तर्क दोहोर्याए।
ओर्लिएका एक यात्रुले टिकट नदिई नहुने बताए। ‘च्यातेर फ्यालिसकेँ। अहँ, म दिन सक्दिनँ,’ यति भन्दै सहचालकले गाडी कुदाउन चालकलाई संकेत दिए।
यसरी टिकट माग्दा पनि नदिएपछि यात्रुहरूले गाडी चालक र सहचालकको नियतमा शंका गरे। साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई यसबारे सोध्यौँ, ‘साझा यातायातले शनिबार यात्रुलाई टिकट नदिने प्रावधान बनाएकोे हो?’
दीक्षितले साझा यातायातमा सधैँ टिकटको व्यवस्था गरिएको बताए। उनले थपे, ‘यो सहचालक र चालकको बदमासी हुनसक्छ। त्यसो गरेको पाइएमा हामी उनीहरूलाई कारबाही गर्छौँ।’
यो समाचार तयार पर्दासम्म साझा यातायात कार्यालयले सोमबारदेखि सम्बन्धित चालक र सहचालकको ड्युटी रोक्ने र स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।