काठमाडौं– जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो।
जिल्ला अदालतले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा उनीमाथि बुधबार सजाय निर्धारण गरेको हो। जिल्ला अदालतले उनीसहितका अभियुक्तहरुलाई दोषी ठहर हुने सजाय सुनाएको थियो।
हत्यामा मुख्य योजनाका रहेका भनिएका बस्नेतसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ। हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई भने १५ वर्ष मात्र कैद हुनेगरी सजाय निर्धारण गरिएको छ।
समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने सजाय निर्धारण भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
यो विवादमा असार १२ गते जिल्ला अदालतले फैसला सुनाएको थियो। जिल्ला अदालतले १८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई सफाइ दिएको थियो। २०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि काठमाडौंको प्रयागचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो।
सो घटनामा बस्नेतसहित २४ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो। सुरुमा प्रहरीले २३ जनालाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गरेकोमा अनुसन्धान हुँदै जाँदा बस्नेतकी श्रीमतीको पनि संलग्नता पछि पूरक अभियोग दर्ता गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।