काठमाडौं– अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको फिल्म ‘बगान’को ट्रेलर बुधबार युट्युवमार्फत् सार्वजनिक भयो। करिब ३ मिनेटको ट्रेलर हेर्दा प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’को झल्को दिन्छ।
‘बगान’मा करिश्मा मानन्धरको मुख्य अभिनय छ। ट्रेलरमा करिश्मा एकल आमाको रुपमा छोरीलाई हुर्काएकी छिन्। छोरी हुर्किसकेपछि उनी एक पुरुष (सरोज खनाल)सँग प्रेममा परेको देख्न सकिन्छ। त्यसकै कारण उनी परिवार र समाजबाट अपहेलित हुनुपर्छ।
त्यसपछि ट्रेलरमा आमाको विवाह गराउन छोरीले गरेको प्रयत्न देख्न सकिन्छ।
‘महापुरुष’मा पनि हरिवंश आचार्य एकल बा हुन्छन्। उनी पनि छोराहरू हुर्किसकेपछि एक महिलासँग प्रेममा पर्छन्। बुढेशकालमा प्रेम गरेकै कारण उनी पनि परिवार र समाजबाट अपहेलित हुनुपर्छ। तर अन्त्यमा छोराले नै बाबुको विहे गराउँछन्।
यसर्थ ‘महापुरुष’मा एकल बाको दृष्टिकोणबाट कथा भनिएको छ भने ‘बगान’मा एकल आमाको पक्षबाट। एकल बा र एकल आमाको संघर्षको अन्तर निकै छ समाजमा।
‘महापुरुष’को झल्को दिए पनि ‘ट्रेलर’ हेरेर मात्र फिल्मको मूल्यांकन भने गर्न सकिन्न। त्यसका लागि त आगामी असार २९ गतेबाट प्रदर्शन हुने फिल्म नै पर्खनुपर्छ।
लेखक स्वप्निल नीरवको कथा रहेको ‘बगान’मा करिश्मासँग प्रमिला कार्की, नीर शाह, मिथिला शर्मा र बसुन्धरा भुसालको शीर्ष भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।