बर्दिवास– महोत्तरीमा गोली चलेको छ। विवादका बीच मंगलबार साँझ रामगोपालपुर नगरपालिका– १ बसबिट्टीमा गोली चलेको हो।
लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागेर ४४ वर्षीय श्रवण यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ। उनको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ।
बसबिट्टी घर भएका यादवमाथि मण्डलले २ राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिए। कञ्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ।
गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। आक्रोशित स्थानीयले मण्डललाई पनि कुटपिट गरेका थिए। स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराइ थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिप गिरीले बताए।
श्रवण यादवलाई २ वटा गोली लागेको र अहिले उपचार चलिरहेको चिकित्सक सौरभ कर्णले बताए।
गोली लागेका यादवका आफन्त सुदीपकुमार यादवले कुकुरका लागि झगडा हुँदा मण्डलले गोली चलाएको बताएका छन्।
घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, ३ थान गोलीको खोका बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।