काठमाडौं– देशभर गत आर्थिक वर्ष (आव) २०७४/७५ मा ३ लाख ४१ हजार ६ सय २३ मोटरसाइल थपिएको छ।
यातायात व्यवस्था विभागका अनुसार गत आवमा सबैभन्दा बढी मोटरसाइकल प्रदेश ३ मा दर्ता भएका छन्। प्रदेश ३ मा मात्रै १ लाख ४ हजार ४ सय ४४ मोटरसाइकल दर्ता भएका छन्।
यसैगरी सबैभन्दा थोरै कर्णाली प्रदेशमा दर्ता भएका छन्। गत आवमा कर्णाली प्रदेशमा जम्मा २ सय ६० वटा मोटरसाइकल दर्ता भएको तथ्यांक छ। यसैगरी प्रदेश १ मा २८ हजार १ सय ९६, प्रदेश २ मा ९७ हजार ८ सय २८, गण्डकी प्रदेशमा १७ हजार ९ सय ८, प्रदेश ५ मा ८१ हजार ३ सय ६७ र प्रदेश ७ मा ११ हजार २ सय २० मोटरसाइकल दर्ता भएका छन्।
तर, अघिल्लो आव २०७३/७४ को तुलनामा गत आवमा २०७४/७५ मा मोटरसाइकल खरिदमा भने कमी आएको छ। अघिल्लो आवमा कुल ३ लाख ५४ हजार ७१ मोटरसाइकल दर्ता भएका थिए।
सवारी दर्ता पनि घट्यो
गत आवमा सवारी दर्ता पनि घटेको छ। गत आवमा देशभर ४ लाख ३७ हजार ६ सय १४ वटा सवारी दर्ता भएको छ। तर, अघिल्लो आवमा सवारी दर्ताको संख्या ४ लाख ४४ हजार २ सय ५९ थियो।
विभागका अनुसार गत आवमा देशभर कुल २ हजार ९ सय ७२ वटा बस, १ हजार ९ सय ७३ वटा मिनिबस÷मिनिट्रक र १२ हजार १ सय ५४ वटा निर्माण उपकरण र टिप्पर दर्ता भएका छन्। यस्तै गरी १० हजार ३ सय ४२ पिकअप भ्यान, १ हजार ९ सय ३४ वटा माइक्रो, १६ हजार २ सय ९ वटा टेम्पो, १३ हजार ३ सय ९६ ट्याक्टर/पावरटेलर र १३ हजार ३ सय २५ ई–रिक्सा दर्ता भएको छ।
सरकारले सावरी कर्जामा कडाइ गरेसँगै सवारी दर्तामा पनि कमी आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।