काठमाडौं- टोखा नगरपालिका–५ मा रहेको द स्काई लार्क बोर्डिङ स्कुलका सञ्चालकले छात्रामाथि यौन दुर्व्यवहार गरेका छन्। बाल यौन दुर्व्यवहारको आरोपमा स्कुल सञ्चालक ६१ वर्षीय जनक राईविरुद्ध मुद्दा दर्ता भएको छ।
फाइभ स्टार होटलमा लान्छु भन्दै प्रलोभन देखाएर स्कुल सञ्चालक राईले छात्राको संवेदनशील अंगमा छुने, किस गर्ने, अँगालो मार्ने, ढाड, कम्मर मुसार्ने गरेको भन्दै पीडित छात्राको तर्फबाट प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी परेको थियो। विगत दुई वर्षदेखि यसरी बाल यौन दुर्व्यवहार गर्दै आएको भन्दै पीडित छात्राले परिवारमा भनेपछि परिवारले प्रहरीमा जाहेरी दिएका थिए।
जाहेरी परेपछि प्रहरी वृत्त महाराजगञ्जले स्कुल सञ्चालक राईलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। अनुसन्धान सक्काएर बाल यौन दुर्व्यवहारको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको थियो।
सरकारी वकिल कार्यालय बाल यौन दुर्व्यवहार कसुरमा स्कुल सञ्चालक राईलाई कारबाही हुनुपर्ने माग राख्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।