काठमाडौं– नाताले बहिनी पर्नेलाई नै अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा दोषी ठहर भएका एक युवा १३ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको साविक उरही गाविस–८ का ३१ वर्षीय नवीन बस्नेत छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार काभ्रेस्थलीबाट पक्राउ गरेको हो।
अध्ययन तथा नागरिकता बनाउने कामको सिलसिलामा काठमाडौंको नयाँ बसपार्कस्थित दाजु नाता पर्ने नवीनको साथमा २०६७ असार १५ गते एक युवती बसेकी थिइन्।
राति साढे ११ बजेतिर दाजु नाता पर्ने नवीनले ती युवतीलाई अपहरण गरी दाङ पुर्याएका थिए। उनले ती युवतीलाई दाङको पातुखोला बगर लगी सामूहिक बलात्कार गरेका थिए।
बलात्कृत भएपछि पीडित युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन्। उक्त मुद्दामा सर्वोच्च अदालतले समेत २०७९ जेठ १० गते अपहरण तथा सामूहिक बलात्कारको कसुरमा ६ वर्ष कैद सजाय नवीनलाई सुनाएको थियो।
पक्राउ परेका नवीनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीका प्रवक्ता तथा एसपी सञ्जयसिंह थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।