काठमाडौं- महोत्तरीका दुई वटा सुनचाँदी पसलका दुई वटा सेफ चोरी गरेर जंगलमा गाडेको अवस्थामा भेटिएको छ। यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
असार १० गते बर्दिबास नगरपालिका–१ स्थित श्री हरि ज्वेलर्स सुनचाँदी पसल र न्यू ओम साई ज्वेलर्सको दुई वटा सेफ चोरी भएका थिए। हरि ज्वेलर्सको १५ लाख २० हजारभन्दा बढीका सुनचाँदीका गहना राखिएको थियो भने ओम साईमा ३७ लाख ३६ हजारभन्दा बढीका गरगहना राखिएका थिए। मध्यराति सटर फुटाएर सेफ नै चोरी गरिएको थियो।
त्यसपछि पसलमा पजान भएको सीसीटीभीमार्फत प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मान्छे पहिचान गरी पक्राउ गर्न सफल भइएको महोत्तरी प्रहरीका प्रवक्ता तथा डीएसपी दिलिप गिरीले बताए।
सीसीटीभीमा ४/५ जना व्यक्तिले सेफ चोरी गरेर सेतो रङको बोलेरोमा हालेर पूर्वपश्चिम राजमार्ग हुँदै पश्चिमतर्फ गएको देखिएको थियो।
उक्त बोलेरोको अगाडि बीआर ०१ पीडी ८१५८ र पछाडि बीआर–०१ पीडी–८१५ लेखिएको क्यामेरामा देखिएको थियो। त्यसपछि अनुसन्धानलाई थप सहज भएको थियो। उक्त गाडी असार १२ गते प्रहरीले रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाबाट बरामद गरेको थियो।
यो चोरी घटनामा संलग्न भएको देखिएपछि असार १५ गते प्रहरीले बाराको निजगढ नगरपालिका–८ स्थित होटल जंगल इनबाट रौतहटको विजयपुर नगरपालिका–११ का अर्जुन चौधरीलाई र सोही एरियाबाट गाडी चालक सोही ठाउँका २७ वर्षीय साविर देवानलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरु पक्राउ परेपछि चोरी भएको सेफ बरामद भएको थियो। उक्त सेफ रौतहटको गुजरा नगरपालिकामा वर्ने चोचा जंगलमा लगेर गाडेको बताएपछि प्रहरीले सेफ निकालेको थियो। उक्त सेफ फोडेर सामान निकालिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।