सिएनएन- एकदलीय चिनियाँ राजनीतिमा कम्युनिस्ट पार्टीको नेतृत्व सम्हाल्ने व्यक्ति सबैभन्दा शक्तिशाली मानिन्छन्। पार्टीको नेतृत्वबाहेक व्यापारी र अन्य प्रबुद्ध व्यक्ति पनि चीनको शक्तिशाली वर्गमा छन्। कम्युनिस्ट पार्टीको १९औँ महाधिवेशन नजिकिँदै गर्दा विश्व राजनीतिमा शक्ति प्रदर्शन गरिरहेको चीनमा शक्तिशाली व्यक्तिहरुको चर्चा हुन थालेको छ। यस्ता छन् चीनका पाँच शक्तिशाली व्यक्ति-
सि जिन पिङ

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सि जिन पिङ सन् १९८० को दशकदेखि नै राजनीतिमा कुनै न कुनै भूमिकामा सशक्त छन्। पार्टीको १९औं महाधिवेशनबाट आफूलाई फेरि अनुमोदन गराउने दाउमा उनी लागेका छन्। 'आफ्ना विरोधीहरुलाई तह लगाउन माहिर छन् उनी। सिका प्रतिस्पर्धीमा त्यो खुबी छैन त्यसैले उनी चीनमा अझै राज्य गर्न चाहन्छन्, 'प्रोफेसर पेरी लिंक भन्छन्।
सिको परिवार नै राजनीतिमा सक्रिय थियो। बाबुको सांस्कृतिक क्रान्तिबाट राजनीतिमा प्रेरित भएका सि सन् २०१२ मा राष्ट्रपति भएका हुन्। पटकपटक प्रयास गर्दा पनि उनी कम्युनिस्ट पार्टीको सदस्यबाट विमुख भएका थिए। सन् १९७४ मा मात्र पार्टीको सदस्यता हात पारे। त्यसपछि विभिन्न प्रदेशको जिम्मेवारी सम्हाल्दै उनी सन् २००८ मा उपराष्ट्रपति भए।
सन् २०१२ देखि हालसम्म उनी राष्ट्रपतिको भूमिकामा छन्। उनलाई चीनमा सर्वोच्च नेता पनि भनिन्छ।
ज्याक मा

ज्याक मा पूर्व अंग्रेजी शिक्षक हुन्। माइकल ज्याक्सन जस्तै नृत्य गर्न मन पराउने उनी राष्ट्रपति सिपछिका सेलिब्रिटी हुन्। ज्याक माको चिनियाँ नाम मा योङ् हो। उनी अलिबाबा कम्पनीका मालिक हुन्। ज्याक मा यस्ता व्यापारी हुन् जसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्व राष्ट्रपति बाराक ओबामासँग वान टु वान वार्ता गरेका छन्। उनको प्रस्तावमा चीनमा सामान खरिदकै लागि वर्षमा एक दिन सबैले छुट्टी पाउँछन्। त्यो दिन हो नोभेम्बर ११।
'आफ्नो कार्यमा लगन र दृढताका कारण नै ज्याक माले सफलता हात पारेका हुन्। उनी सबै चिनियाँ लागि प्रेरणादायी पात्र छन्,' हङकङ विश्वविद्यालका प्राध्यापक वली लम भन्छन्।
वाङ्क क्विसाङ

सन् २०१२ मा राष्ट्रपति भएपछि सि जिन पिङले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अघि सारे। आफ्नो नीति कार्यान्वयनका लागि सिले बेइजिङका पूर्वमेयर समेत रहेका वाङ्कलाई चयन गरे। राष्ट्रपतिको विश्वास पात्र वाङ्कदेखि चीनका सरकारी कर्मचारी थर्कमान छन्। भ्रष्टाचारमा उनले सुरक्षा निकायका उच्चपदस्थ कर्मचारीदेखि पार्टीका सचिवसम्मलाई कारबाही गरेर सनसनी मच्चाएका छन्।
चीनको राजनीतिमा उनी दोस्रो शक्तिशाली व्यक्ति हुन्। 'वाङ्कबिना राष्ट्रपति सि पनि अधुरै रहनेछन्। उनी राष्ट्रपतिका लागि निकै महत्वपूर्ण छन्,' चीनका आर्थिक जानकार टम र्याफिटी भन्छन्।
भ्रष्टाचारी कर्मचारीलाई कारबाही तीव्र बनाएपछि कर्मचारीतन्त्रमा मौलाउँदै गएको अनियमितता नाटकीय रुपमा कम भएको जानकारहरु बताउँछन्। उमेर हदका कारण अब वाङ्क अवकाशको चरणमा छन्। ६९ वर्षीय वाङ्क पार्टीको विधान अनुसार अब राजनीतिमा हुनेछैनन्।
मा हुवातङ्क

चीनमा सबैसँग हुने मोबाइल एप हो- वी च्याट। त्यस एपका निर्माता मा हुवातङ्क चीनको तेस्रो धनी व्यक्ति हुन्। उनको कम्पनीले सन् १९८८ मा वी च्याट बनाएको हो। वी च्याटको प्रयोगकर्ता १ अर्ब छन्।
चीनमा इन्टरनेटमा कडाइमा भइरहेका बेला वी च्याटले प्राप्त गरेको ख्यातिलाई सबैले प्रशंसा गरिरहेका छन्। 'इन्टरनेटमा कडाइ रहेको चीनमा वी च्याट निर्माण गरी उनले प्राप्त गरेको सफलता प्रंशसनीय छ,' चीनका आर्थिक जानकार टम र्याफिटी भन्छन्, 'चिनियाँ व्यक्तिलाई सामाजिक सञ्जालमा जोड्नु उनको ठूलो सफलता हो।'
लि क्वान

चिनियाँ राजनीतिको संरचनामा लि दोस्रो नम्बरमा पर्छन्। तर उनको प्रभाव भने बढी छ। सन् २०१२ मा उनी चीन सरकारको प्रधानमन्त्री भए। उनी राष्ट्रपति सि जिन पिङपछिको वरीयतामा छन्। चीनको आर्थिक समृद्धि प्रविधिको विकास र सामाजिक रुपान्तरणमा उनको भूमिका अहम् रहेको जानकारहरु बताउँछन्। उनी हेनान प्रान्तका पूर्व गर्भनर समेत थिए। पेकिङ् विश्वविद्यालयबाट विद्यावारिधि गरेका लि पूर्व राष्ट्रपति हु जीन तावका विश्वास पात्र थिए।
लिलाई पूर्व राष्ट्रपति हुले नै कम्युनिस्ट युथ लिगबाट केन्द्रीय राजनीतिमा तानेका थिए। 'लि कुशल प्रशासक हुन्, शक्तिको सही सदुपयोग गर्ने खुबीकै कार उनी शक्तिशाली बनेका हुन्,' चिनियाँ राजनीतिका जानकार झाओ बो भन्छन्। (अनुवाद: शिशिर ढकाल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।