काठमाडौं- मकवानपुरकी ठूलीकान्छी बल बलात्कार तथा हत्या प्रकरणमा ४४ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४४ वर्ष कैद सजाय तोकिएका सूर्यबहादुर थोकरलाई पक्राउ गरेको हो।
२०६८ असोज २६ गते राति १ बजेतिर मकवानपुरको साविक छतिबन गाविस-९ दोभानकी बललाई थोकरसँगै गणेश घ्यावा, चेतबहादुर भोलनसमेतले सामुहिक बलात्कार गरेका थिए।
घरमै उनीहरुले सामुहिक बलात्कार गरेपछि धारिलो हतियारले घाँटी रेटी ठूलीकान्छीको हत्या गरेका थिए। उक्त बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा मकवानपुर जिल्ला अदालतले २०७८ वैशाख ५ गते थोकरलाई ४४ वर्ष कैद हुने फैसला गरेको थियो।
घटना भएलगत्तै फरार रहेका थोकरलाई उदयपुरको गाईघाटबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए। उनलाई ज्यान मारेको जन्मकैदतर्फ २०, ज्यान मार्ने षड्यन्त्र गरेतर्फ १२, जबरजस्ती करणीतर्फ ७ र सामुहिक बलात्कारतर्फ ५ गरी ४४ वर्ष कैद सजायको फैसला गरिएको थियो।
पक्राउ परेका थोकरलाई फैसला कार्यान्वयनका लागि भीमफेदी कारागार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।