काठमाडौं– पूर्व लडाकु लेनिन बिष्टलाई बैंकक जानबाट रोकिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफ पठाएका छन्। मंगलबार उनले जवाफ लेख्दै बिष्टलाई रोक्नुपर्ने कारणबारे उल्लेख गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गृहमन्त्रीलाई त्यसबारे २४ घन्टे स्पष्टिकरण सोधेका थिए। बिष्टले बाल सैन्यको विषयमा अन्तराष्ट्रिय मञ्चमा कुरा उठाउन सक्ने भएकाले गृहले उनलाई रोकेको आरोप लागेको थियो।
तर, पूर्व बाललडाकुहरुकै उजुरीका आधारमा बिष्टलाई रोकिएको गृहमन्त्रीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ। मन्त्रालय स्रोतका अनुसार बिष्टले पूर्व बाललडाकु संगठनको पैसा हिनामिना गरेको तथा अरुको नाममा आएको पत्रमा सधैं आफू विदेश जाने गरेको भनेर मन्त्रालयमै आएर पूर्व बाल लडाकूहरुले निवेदन दिएपछि रोकिएको उल्लेख छ।
गत शुक्रबार एक कार्यक्रममा भाग लिन बैंकक जान लागेका बिष्टलाई अध्यागमनका कर्मचारीले शंकास्पद भ्रमण भन्दै रोकेका थिए। सो घटनाले स्वतन्त्र हिडडुल गर्न पाउने व्यक्तिको मानवअधिकारको हनन भएको भन्दै सरकारको आलोचना भइरहेको छ।
प्रधानमन्त्रीले स्पष्टिकरण सोधेपछि यो घटनाले प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीचको दुरी समेत बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।