पक्राउ परेकाहरुलाई म्याद थपका लागि अदालत लैजाने क्रममा प्रहरीको भ्यानमा।
काठमाडौं– सरकारी कागजात र प्रमाणहरु केरमेट तथा कीर्ते गरी बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको बनाउने प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकामध्ये १ जना व्यक्ति मात्रै हिरासतमा रहेका छन्।
सीआईबीले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। तर पक्राउ परेकामध्ये ३ जना भने यसअघि नै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा जारी गरेको अन्तरिम आदेशानुसार रिहा भएका छन्। ३ जना भने बिरामी रहेको भन्दै त्रिवि शिक्षण अस्पतालमा बसेका छन्।
मंगलबार पक्राउ परेका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी सर्वोच्च अदालतको अन्तरिम आदेश देखाए रिहा भएका थिए।
यस्तै, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारका तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम बिरामी रहेको भन्दै त्रिवि शिक्षण अस्पतालमा रहेका छन्।
अहिले तत्कालीन शाखा अधिकृत गोपाल कार्की मात्रै हिरासतमा रहेका छन्।
ललिता निवासको जग्गा व्यक्तिको नाममा कायम गरी अनियमितता गरेको भन्दै अख्तियारले यसअघि १०० जनाभन्दा बढीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अहिले विचाराधीन छ।
सीआईबीले भने सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात तथा दस्तावेज केरमेट र कीर्ते गरेको प्रकरणमा अहिले अनुसन्धान अगाडि बढाएको हो। कीर्ते प्रकरणको अनुसन्धानका लागि ४०६ जनाविरुद्ध पक्राउ पूर्जी लिइएको सीआईबीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।