काठमाडौं– रामानन्द सागरको चर्चित टिभी सिरियल ‘रामायण’ फेरि टिभीमा फर्किने भएको छ।
शेमारु टिभीले ३ जुलाई २०२३देखि प्रसारण सुरु हुने घोषणा गरेको छ। ८० को दशकको टिभी कार्यक्रममा अरुण गोभिल र दीपिका चिखलियाले राम र सीताको भूमिकाबाट निकै लोकप्रियता पाएका थिए।
लक्ष्मणको भूमिका सुनिल लाहिरीले निभाएका थिए।
रामानन्द सागरको ‘रामायण’ लाई नयाँ फिल्म ‘आदिपुरुष’सँग तुलना भइरहेका बेला ‘रामायण’ पुनः प्रशारण गर्ने घोषणा भएको हो। हिन्दू महाकाव्य ‘रामायण’मा आधारित भनिएको ‘आदिपुरुष’को चर्को आलोचना भइरहेको छ।
फिल्ममा राम, सीता, हनुमान र रावणलाई गलत तरिकाले चित्रण गरिएको बताइएको छ। जुन १६ मा सिनेमाघरमा रिलिज हुने यस चलचित्रमा प्रभास, कृति सेनन, देवदत्त नागे र सैफ अली खानको अभिनय रहेको छ। यसलाई ओम राउतले निर्देशन गरेका हुन्।
टिभी कार्यक्रमको छोटो क्लिप सेयर गर्दै च्यानलले आफ्नो सामाजिक सञ्जाल पेजमा पोष्ट गरेको छ, ‘विश्व प्रसिद्ध पौराणिक धारावाहिक रामायण सबै प्रशंसक र हाम्रा दर्शकहरूको लागि फिर्ता आएको छ। ३ जुलाई साँझ ७:३०देखि च्यानल शेमारु टिभीमा मात्र हेर्नुहोला।’
‘रामायण’ कोरोना भाइरसको पहिलो लहरमा दूरदर्शनमा पुन: प्रशारण भएको थियो। यो सिरियलले ८०को दशकमा पाएको माया फेरि पनि पाएको थियो।
‘आदिपुरुष’ ले बलिउडदेखि नेपालमा पनि कडा आलोचना खेप्नुपर्यो। फिल्मको संवादलाई लिएर निकै आपत्ति जनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।