काठमाडौं– बाराका युनुस अन्सारीलाई जेलभित्रै गोली हानेको आरोपमा जेल परेका भारतीय नागरिक जसजित सिंह (मनमित सिंह भटिया) जेलमुक्त भएलगत्तै पुनः पक्राउ परेर फेरि जेल चलान भएका छन्।
अन्सारीमाथिको गोलीकाण्डमा १२ वर्ष जेल बसेर केही दिनअघि मात्रै छुटेका उनी अर्को हत्याकाण्डमा पक्राउ परेर फेरि जेल चलान भएका हुन्। उनी केही दिनअघि डिल्लीबजार कारागारबाट मुक्त भएका थिए। त्यसलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको थियो।
बाँकेमा उनीमाथि अर्को हत्याको आरोप थियो। नेपालगन्जको लालीगुराँस होटलमा २०६६ असोज १९ गते अब्दुल मजिद मनिहारको भारतीयले गोली हानी हत्या गरेका थिए। मनिहारको हत्याको कारण पनि भारतीय नक्कली नोटको कारोबार नै रहेको पुष्टि अनुसन्धानले देखाएको थियो।
उनको हत्या भारतीय सुटर जसजीत सिंहले गरेको निष्कर्ष थियो। सोही घटनामा अदालत पेस गरिएकोमा पुर्पक्षका लागि कारागार पठाउने आदेश भएपछि जेल चलान गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले बताए।
मनिहारको हत्यापछि २०६७ फागुन २६ गते सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीमाथि गोली प्रहार भएको थियो। कैदी चार्ल्स शोभराजलाई भेट्ने बाहनामा कारागार पुगेका जसजित सिंहले अन्सारीमाथि गोली प्रहार गरेका थिए। अन्सारीमाथि जसजितले हानेको ४ राउन्ड गोली नपड्किएपछि पाचौं गोली अन्सारीको कुममा लागेर उछिट्टएिको थियो।
पटकपटक नक्कली नोट कारोबारमा पक्राउ पर्दै जेल बस्दै छुटेका अन्सारीलाई पछिल्लो पटक महानगरीय प्रहरी कार्यालयको टोलीले २०७६ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। त्यसयता युनुस कारागारमै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।