काठमाडौं– केही दिनअघि मात्र युट्युवमा ‘पाहुना’झैं टुप्लुक्क आइपुग्यो आर्टमाण्डूको ‘पाहुना हजुर’।
तर आएपछि ‘पाहुना’ मात्र भएर कहाँ बस्नु! धान नाचिरहेको दृश्य, पालम गाइरहेका सुर र लिम्बूहरूको सत्कारसहितको विहे भोज। आँखामा गहिरो छाप छाड्ने लिम्बू संस्कृतिको सौन्दर्य।
उसो त सुटुक्क आएर मनबाट हटिजाने गीत आर्टमाण्डूका सायदै छन्। ‘फुलथुंगे रानी’पछि ‘पाहुना हजुर’पनि जीवन्त बाँचिरहने धुनसरी कानमा गुन्जियो।
‘पाहुना हजुर’मा आफैं पाहुना भएर लिम्बू संस्कृतिको विहेमा सरिक भएँ कि! यस्तै लागिरह्यो।
गत साल मण्डला थिएटरमा नाटक ‘चोरको स्वर’ हेरेर फर्कँदा अनुभूत भएथ्यो– म लिम्बूहरूको विहेमा सरिक भएर फर्किरहेछु जस्तो।
हुन त ‘चोरको स्वर’मा दुई निर्देशकमध्येका एक अनिल सुब्बा ‘पाहुना हजुर’का मुख्य पात्र हुन्। यदि तपाईंले नाटक हेर्नुभएको छ भने पनि पक्कै याद गर्नुहुनेछ। पाहुना गएकी युवतीलाई धान नाचेर फकाउने पात्र उनै अनिल हुन्।
‘चोरको स्वर’ र ‘पाहुना हजुर’को गहिरो साइनोबारे त थप चर्चा गरौँला। यी दुवैको सृष्टिको मूल भने एकै हो। लिम्बू संस्कृतिमाथिको यो सुन्दर सिर्जना रच्ने नवीन चौहान हुन्। जो गैरलिम्बू भए पनि लिम्बू समुदायमा हुर्के।
उनले पहिलो पटक प्रत्यक्ष देखेको नाच धान नाच थियो। पहिलो पटक सुनेको गीत पालम थियो।
‘म त्यही समुदायमा हुर्किएँ। त्यो वाछिट्टाले मलाई पनि छोएको छ। मैले चोरको स्वर बुझाएको नजिकबाट देखेको छु। पाहुनाहरूसँग नजिकबाट चिनजान गरेको छु,’ नवीन भन्छन्, ‘मैले देखेको लिम्बू समुदायको यो निकै सुन्दर कुरा हो।’
गीतलाई गायक आशिश महर र सुनिता थेगिमले आवाज दिएका छन्। पालम दीपा सुहाङले गाएकी छन्। संगीत एरेन्जमेन्ट प्रज्ज्वल लामाले गरेका छन्।
गीत सुनेपछि म युट्युवको कमेन्ट बक्समा गएँ। एक प्रयोगकर्ताको कमेन्टमा टक्क आँखा अडिए। कमेन्टको एउटा अंश यस्तो थियो, ‘पश्चिम नेपालको हिरा सुदुरपूर्वमा चम्किरहेको जस्तो लाग्यो...।’
‘पाहुना हजुर’मा लिम्बूको कथा गैरलिम्बूले भनेका मात्र छैनन्, सुदूरपश्चिमका युवकले सुदूरपूर्वका भाका गाइरहेछन्। नवीन भन्छन्, ‘यो एउटा मीठो सन्देश पनि हो। आशिशमार्फत् पूर्वको भाका, संस्कृति सुदूरपश्चिम पनि पुग्ने भयो।’
पाहुना बसेर बनाएको ‘पाहुना हजुर’
म्युजिकल फिल्मको पृष्ठभमिका कथा रोचक छन्। विसं २०७८ साल मंसिरतिर निर्देशक नवीन आफ्नो टिमसँगै पूर्व झरेका थिए। उनीसँग त्यतिबेला ६ वटा कथा खिच्ने योजना थियो। त्यहीमध्येका हुन् ‘घुमीघुमी’, ‘सुनाखरी’।
आफूले बालापन बिताएका इलाम र पाँचथरको सिमानातिर उनी सुटिङ गरिरहेका थिए। त्यहीबखत नवीनका बालसखा आएर भने, ‘सधैं डाँडातिर कुदेर मात्र हुन्छ? हाम्रो ठाउँमा चाहिँ सुटिङ नगर्ने?’
साथीले भनेपछि उनलाई पनि लाग्यो– ‘आफ्नै ठाउँमा पनि केही त गर्नुपर्यो।’
नवीन आफू हुर्केको गाउँ आसपास गए। १५ दिनसम्म त्यहीँ बसे। केहीदिनसम्म उनी कथाबारे घोत्लिरहे। निकै सोचेपछि निर्क्यौलमा पुगे, ‘चोरको स्वरको कथा भन्नुपर्यो।’
लिम्बू समुदायमा भागी विवाह गर्दा चोरको स्वर बुझाउने चलन छ। चोरको स्वर बुझाउँदा दुलाहा पक्षले दुलही पक्षकोमा सुंगुर, भालेसहितको सगुन बुझाउँछन्। ‘चोरको स्वर’ स्वीकार गरेपछि बिहे सुरु हुन्छ।
विहे भोजको बेला पाहुना आउने चलन पनि रोचक रहेछ। ‘बिहे भोजमा पाहुनाहरू आउँछन्। उनीहरूको लागि बारी, खेततिर सेल्टर बनाइन्छ। पाहुनाले आफैं ओछ्यान आफैं लिएर आउँछन्। बस्ने सुत्ने व्यवस्थापन आफैं गर्छन्,’ नवीन भन्छन्।
उनले देखेको लिम्बू समुदायमा त्यसरी पाहुना आएपछि नचिनेकाहरूले एकअर्कामा चिनजान गर्छन्। त्यही क्रममा घण्टौँसम्म पालम गाउँछन्। दुई केटा र केटी धान नाच्दा मन मिल्यो भने माया बस्छ। केटी राजी हुँदा भने भगाउने चलन छ।
गीतको भिडियोमा केटा र केटीको माया बसेको छ। पाहुना आएकी केटीसँग प्रेमिल आँखा जुधेपछि केटाले गाउँछ–
अरे हाओ लिम्बूनी राम्री पो देख्छु
सेवारो लु है भुइँ सोरी ढोग्छु
हेरी पठाङ्नु भएन ,
बा नजर परेन
के हो खै बुझि त
मनमा हुर्किरहेको प्रेमलाई केटाले सम्मानसहित दर्शाउँछ। यो दृश्य निकै सुन्दर देखिन्छ।
नवीनलाई यो कथा खिच्नुअघि आफूले देखेका ती बालापनका दृश्य सम्झनामा आए। पाहुन जान १०/१५ दिनदेखि तयारी गरिरहने लिम्बूहरूको याद आयो। त्यसरी पाहुना जानेहरू धान नाचेरै राजीखुसी भागेका प्रसंग पनि याद आयो।
‘मैले बुझ्दाको समाजमा तानेर हैन मन जितेर मात्र भगाउन सम्भव थियो। पाहुना जाने र धान नाच्ने कल्चरबारे खासै फिल्म वा गीत बनेजस्तो लागेन। मैले बनाइनँ भने यतिकै बिर्सेर पो जाने हो कि भन्ने भयो। अनि खिचें,’ नवीन सुनाउँछन्।
उनीहरूलाई गाउँले सम्मानसहित स्वागत गरिरहेको थियो। म्युजिकल फिल्म खिच्न आएको थाहा पाएपछि सोधियो, ‘केको बारेमा बनाउन लागेको?’
उनले ‘चोरको स्वर’माथि भनेर सुनाएका मात्र थिए, त्यसका विधिबारे प्रशस्त कुरा आए। हरेक तयारीमा गाउँलेहरूले नै साथ दिए। त्यतिबेला वास्तविक विहेकै माहोल भइरहेको नवीन सम्झन्छन्।
‘अब विहे कहिले तोक्ने त?’गाउँलेहरूले सोधे।
एउटा दिन त तोकियो। तर बेहुला बेहुली को?
उनलाई गाउँ लैजान उत्प्रेरित गर्ने साथीले सुझाए, ‘मेरो कान्छी बहिनी भर्खर भागेकी छ। उसलाई र ज्वाइँलाई बोलाऊँ।’
रमाइलो त, सेटमा वास्तविक रुपमा नै विहे हुने भयो। उनीहरूले बहिनी ज्वाइँलाई बोलाए। ‘त्यतिन्जेलसम्म ज्वाँइ ससुरालीमा भित्रिएकै थिएनन्। तर ससुराली गाउँमा आएर विहेको भिडियो खेले,’ त्यो क्षण सुनाउँछन् नवीन।
थन्किएका फुटेज
कथा विभिन्न लेयरमा खिचिएको थियो। खिच्दै जाँदा ३० मिनेटको भिडियो पो बन्ने भयो। नवीनले सोचे, ‘यो त फिचर्ड फिल्म वा नाटक पो गज्जब होला।’
त्यसपछि म्युजिकल फिल्मलाई थाती राखेर नवीनले नाटकको योजना बुने।
त्यही नाटक हो गतसाल मण्डलामा मञ्चन भएको ‘चोरको स्वर।’ नवीनको लेखन रहेको यो नाटकले राम्रो समीक्षासँगै उदाहरणीय आम्दानी पनि गर्यो।
नाटकमार्फत् आफूले चाहेको कथा भनेपछि नवीनले १५ दिन दु:ख गरेर खिचेको फुटेजहरू थन्क्याए।
झण्डै एक वर्षपछि उनलाई गायक आशिशले फोनमा सुनाए, ‘मसँग एउटा कम्पोजिसन छ। तपाईंलाई सुनाउन मन छ।’
आशिशले कम्पोजिसन सुनाउने क्रममा बीचमा हाक्पारे मिसाएका थिए। उनको कम्पोजिसन पनि ठेट पूर्वेली लाग्थ्यो। तत्काल नवीनले आफूले थन्क्याएर राखेको फुटेजबारे सम्झिए। त्यसमध्येमा एउटा लेयरको कथाले उनलाई तानिरह्यो।
त्यसपछि नवीन र आशिशले १ महिना लगाएर शब्द तयार पारे। अनि भागी विहेको कथालाई अर्गानिक स्वादमा भन्न लागिपरे।
र त्यही कथा ‘पाहुना हजुर’ यतिबेला युट्युवमा लोकप्रिय छ।
पाहुना लागेर विहेमा पुगेकी सनाया लिम्बू र अनिल सुब्बाको धान नाच र प्रेमले गैरलिम्बूलाई आकर्षित गरिरहेको छ। म्युजिकल फिल्म हेरेर मख्ख परिरहेका लिम्बू साथीहरूले चाहिँ भनिरहेका छन्, ‘यो त मेरै कथा हो। घरको कथा हो। गाउँको कथा हो। यति सुन्दर काम गरेकोमा धन्यवाद आर्टमाण्डू।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।