काठमाडौं– उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताए।
उपप्रधानमन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध संगठन भएको र यसले आफ्नो जिम्मेवारी सोहीअनुसार निर्वाह गरिरहेको बताए।
खड्काले भने– ‘संविधानप्रति प्रतिबद्ध एक नेपाली सेनाको संगठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको ब्यहोरा माननीय सदस्यहरुलाई अवगत नै छ। त्यसैले हाम्रो नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु। हाम्रो राष्ट्रिय सुरक्षा नीतिको विषयमा उठेको विषय छ। त्यस सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराहरुको सामना गर्नु परिरहेको छ। बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतंकवाद, आर्थिक संकट, महामारी लगायतका सुरक्षा चुनौतीहरुले मानव जीवनमा नै कठिनाइ निम्त्याइरहेका अवस्थाहरु छन्।’
उपप्रधानमन्त्री खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्नेगरी नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।