काठमाडौं– ३० लाख रुपैयाँ ऋण दिएर १ करोड २६ लाख असुलेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको नखीपोटका ४६ वर्षीय ज्ञानेन्द्र महर्जन छन्। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले असार ८ गते ललितपुरकै जुपिटरटोलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार ज्ञानेन्द्रले ललितपुरकै ३७ वर्षीय मनोज महर्जनलाई वैदेशिक रोजगारीमा जानका लागि भनेर ३० लाख रुपैयाँ ऋण दिएका थिए। पटक पटक गरेर १ करोड २६ लाख लगिसक्दा समेत अझै रकम माग्न नछाडेको भन्दै मनोजले ज्ञानेन्द्रविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनको घरबाट प्रहरीले ७ करोड २९ लाख ७७ हजार रुपैयाँ बराबरका विभिन्न व्यक्तिको नाममा वडाबाट प्रमाणित भएका र नभएका तथा म्याद गुज्रेका २३ थान तमसुक बरामद गरेको छ। विभिन्न बैंक तथा सहकारीको १ करोड ३४ लाख रुपैयाँ बराबरका चेक, विभिन्न व्यक्तिको नाममा म्याद नाघेका, दस्तखत नभएका, मिति खाली रहेका ३२ थान चेक, ६ थान चेक बुक र लालपूर्जा पनि उनको घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ज्ञानेन्द्रविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।