काठमाडौं– काठमाडौं उपत्यकामा आपसमा मिलेर शृंखलाबद्ध चोरी गरेको आरोपमा प्रेमी-प्रेमिका पक्राउ परेका छन्। काठमाडौं र ललितपुरका आईटी पसल र अफिसमा दिनभर रेकी गरेर रातभर चोरी गरेको आरोपमा ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका १९ वर्षीया रोशनी महर्जन पक्राउ परेका हुन्।
प्रहरीका अनुसार सुवोध र रोशनी रविभवन स्थित सोल्टी सिटी अपार्टमेन्टको आठौं तलामा बस्दै आएका थिए। चोरी गरेरै अस्ट्रेलिया जाने सपना बुनेका उनीहरू डेढ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएको प्रहरीले जनाएको छ।
पछिल्लो एक वर्षदेखि उनीसँगै रोशनी ‘लिभिङ टुगेदर’ थिइन्। २०७८ जेठ २८ मा राति ललितपुर महानगरपालिका-९ मानभवनमा ओम प्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिंक टेक्नोलोजीमा चोरी भएको थियो। सो चोरी अनुसन्धान गर्दै जाँदा सुवोध र रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
उनीहरुविरुद्ध प्रहरीले अदालतबाट सात दिनको म्याद अनुमति लिएर अनुसन्धान गरिरहेको छ। सुवोधले ग्लोबल लिंक टेक्नोलोजीको झ्याल फुटाएर काउन्टरबाट १ लाख ८ हजार नगद, कम्पनीको सीईओको कोठाबाट ३७ हजार नगद र डेल कम्पनीको ल्यापटप चोरी गरेको अनुसन्धानबाट पत्ता लागेको छ। अनुसन्धानबाट रोशनी पनि चोरीमा संलग्न रहेको भेटिएको छ।
सुवोधले ज्ञानेश्वरबाट ३२ वटा ल्यापटप र पुतलीसडक स्थित ‘आई टिम प्रालि’ मा पनि चोरी गरेको अनुसन्धानमा संलग्न अधिकृतले बताए। प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।