काठमाडौं– प्रहरीले ’वानएक्स बेट’को प्रचार गरेको आरोपमा एक जना युट्युबका भ्लगरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित राजकुमार तामाङ रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय तामाङलाई कपनबाट गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
उनले पनि ‘वान एक्स बेटिङ’को प्रचार प्रसार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो।
उनीहरूले वान एक्स बेट खेलाउन उक्साउने गर्थे। युट्युबमार्फत् प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप उनीहरूमाथि छ।
उनीहरुविरुद्ध आइतबार थप पाँच दिनका लागि म्याद थप भएको छ। यसअघि दुई पटक चार दिन र ६ दिन म्याद लिएको प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट आइतबार पाँच दिनको म्यादको अनुमति पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।