काठमाडौं– एक दर्जन बढी ठगी कसुरमा फरार रहेका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्यूठानको झिमरुक गाउँपालिका–४ का गोपाल कामी भन्ने ईश्वरी पोख्रेल रहेका छन्।
उनले विभिन्न फेसबूक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालको प्रयोग गरी गौमुखी ग्रुप अफ इन्डस्ट्रीज कम्पनी, वागमती सप्लायर कम्पनीसमेतको विज्ञापन गरी विभिन्न हार्डवेयरहरुका सामानहरु(रड, सिमेन्ट र अलकत्रा) लगायतका सामग्री सस्तोमा डेलिभरी गरिदिन्छु भन्दै ठगी गरेका थिए।
बैंक खातामा पैसा हाल्न लगाएर सामान नपठाइ ठगी गरेर फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले मंगलबार दिउँसो २ बजेतिर काठमाडौं–११ रामशाहपथबाट पक्राउ गरेको हो। उनीविरुद्ध असार ५ गते तीन वटा ठगीका उजुरी परेका थिए।
यस्तै चितवनबाट पनि उनीविरुद्ध २०७९ माघ २३ गते पक्राउ पुर्जी जारी भएको र वैदेशिक रोजगार विभागबाटसमेत २०७९ माघ १० गते ठगी कसुरमा पक्राउ पुर्जी जारी भएको पाइएको छ।
यस्तै ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट २०७९ पुस २८ गते, जिल्ला प्रहरी परिसर काठमाडौंबाट सोही वर्षको कात्तिक २१ गते बैंकिङ कसुरमा, जिल्ला प्रहरी कार्यालय विराटनगरबाट २०७९ कात्तिक २१ गते ठगी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो।
पोख्रेल यसअघि महानगरीय अपराध महाशाखा टेकुबाट २०६७ मा नागरिकता कीर्ते/ठगी मुद्दामा पक्राउ परेकोसमेत पाइएको छ। यसका साथै उनीविरुद्ध २०७२ मा महानगरीय प्रहरी परिसर काठमाडौंबाट २०७२ सालमा ठगी तथा जबरजस्ती करणी कसुरमा मुद्दा चलेको थियो। उनी पटकपटक पक्राउ परेको र धरौटीमा रिहा भएका थिए।
लामो समयदेखि उनी भारतको लखनउमा बसोबास गर्नै आएको र मोबाइलसमेत रोमिङमा चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ। अहिले उनले ९८ लाख बराबरको ठगी गरेको खुल्न आएको र उनीविरुद्ध ठगीका थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।