काठमाडौं– प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै भारत र नेपाल दुवै देशमा यसको आलोचना भइरहेको छ। धेरैले सामाजिक सञ्जालमार्फत फिल्म निर्मातालाई ट्रोल गरिरहेका छन्।
आदिपुरुषलाई हेरेपछि फेरि एकपटक धेरैलाई रामानन्द सागरको ‘रामायण’ सिरियल याद आयो। यसैबीच, रामायण सिरियलमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविलले प्रभासको आदिपुरुषप्रति आक्रोश पोखेका छन्।
अरुण गोविलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जसमा उनी ‘आदिपुरुष’का निर्माताको नाम नलिई आक्रोश पोखिरहेका देखिन्छन्। ‘रामायण’का राम भन्छन्, ‘कसैले आफ्नो जरा बदल्छ? हाम्रो धार्मिक संस्कृति र परम्परालाई कुनै नयाँपन दिन आवश्यक छैन।’
अरुण गोविलले थपे, ‘आउँदो पुस्तालाई यथार्थ के हो त्यो मात्रै बताउने मेरो सधै प्रयास रहँदै आएको छ। आखिर कसले हाम्रो धार्मिक आस्थामा छेडछाड गर्ने र हाम्रो भावनामा चोट पुर्याउने अधिकार दिएको छ?कोही चलचित्र निर्माता, लेखक, चित्रकार, कोही अभिनेता र कोही विज्ञापनदाताले सृजनात्मकताको नाममा धर्मको मजाक नउडाउन, आस्था र परम्परालाई तोडमोड नगर्न विशेष ख्याल गर्नुपर्छ।’
अरुण गोविलको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।