भैरहवा– अवैज्ञानिक रूपमा कर लगाइएको भन्दै चौतर्फी विरोध भइरहेको बेला रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले यस्तै तरिकाले करका दर लागू गरेको छ। उक्त नगरपालिकाले नाफा कमाउने उद्देश्यले स्थापित उद्योग व्यवसायमा करको दर न्यून लगाएको छ भने सागपात बचेर आफ्नो दैनिकी चलाउनेलाई उच्च दरमा कर लगाएको छ।
तेस्रो नगरसभाबाट पारित आर्थिक वर्ष (आव) २०७५/०७६ को बजेट र नीति तथा कार्यक्रम सम्बन्धी पुस्तिकामा उल्लेख गरेको करको दरमा उल्लेख्य रूपमा वृद्धि गरिएको छ।
नगरपालिकाले उल्लेख गरेको व्यवसाय करको सूचीमा खाद्यान्न बेच्ने किराना अन्तर्गतका गल्ला पसललाई वार्षिक २ हजार ८ सय (दैनिक ७ रुपैयाँ ६७ पैसा), पेन्ट पसललाई वार्षिक २ हजार ५ सय (दैनिक ६ रुपैयाँ ४८ पैसा) कर तिनुपर्ने उल्लेख गरिएको छ।
यसैगरी ‘क’ श्रेणीको लेखापरीक्षकलाई वार्षिक ४ हजार (दैनिक १० रुपैयाँ ९५ पैसा), मिडिया तथा सूचना सञ्चार/विज्ञापन ऐजेन्सीलाई वार्षिक १ हजार ५ सय (दैनिक ४ रुपैयाँ १० पैसा) रुपैयाँ कर लगाइने छ। त्यस्तै, कक्षा ६ देखि उच्च माविसम्मका विद्यालयलाई ५ हजार (दैनिक १३ रुपैयाँ ६९ पैसा), प्राथमिक तहका विद्यालयलाई २ हजार (दैनिक ५ रुपैयाँ ४७ पैसा) कर वार्षिक रुपमा तोकिएको छ।
गत वर्ष ५ हजार रुपैयाँ कर लगाएको नगरपालिकाले यस वर्षदेखि लागू हुने गरी निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजलाई ९ सय प्रतिशत बढाएर करिब ५० हजार रुपैयाँ पुर्याएको छ।
उता हाटबजारमा सागपात बेचेर दैनिक गुजारा चलाउनेलाई हाटबजार बैठकी करको नाममा एक दिनको ३५ रुपैयाँ कर नगरपालिकाले लिने गरेको छ। नगरपालिकामा हप्ताको दुई पटक हाटबजार लाग्ने गरेको छ। हप्तामा दुई दिनको ७० रुपैयाँ कर तिर्दा ५२ हप्तामा सागपात बेच्नेहरुले ३ हजार ६ सय ४० रुपैयाँ कर तिर्नुपर्ने देखिन्छ।
तर वार्षिक लाखौँ रुपैयाँ नाफा आर्जन गर्ने उद्योग व्यवसायसँग भने तरकारी व्यापारीका तुलनामा निकै न्युन दरमा कर लगाइएको छ।
९ सय प्रतिशतसम्म बढ्यो कर
नगरपालिकाले करको दरमा व्यापक वृद्धि गरेको छ । अधिकांश क्षेत्रमा करका दर बढाइएको छ । कतिपय क्षेत्रमा ९ सय प्रतिशतसम्म कर बढाइएको पाइएको छ। नगरपालिकाले निजी क्षेत्रबाट संचालित मेडिकल कलेजलाई ९ सय प्रतिशत कर बढाएको छ। गत वर्ष ५ हजार रुपैयाँ कर लगाएको नगरपालिकाले यस वर्ष देखि लागू हुने गरी निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजलाई ९ सय प्रतिशत बढाएर ५० हजार रुपैयाँ पुर्याएको छ। तर लुम्बिनी रण अम्बिका आँखा अस्पतालबाट भने गत वर्षको दर नै यस वर्ष पनि कायम राखेको छ। नगरपालिकाले उक्त अस्पताललाई गत वर्षको समान ७ हजार ५ सय रुपैयाँ कर तोकेको छ।
सागपात बिक्रेतालाई समेत कर बढाएको नगरपालिकाले हाटबजारमा भने कुनै पनि सुविधा उलपब्ध नगराएको भन्दै व्यवसायी आक्रोशित बनेका छन्।
कपडाको थोक बिक्रेतालाई गत वर्ष एक हजार रुपैयाँ कर लगाएको नगरपालिकाले यस वर्ष ४ सय प्रतिशत कर बढाएर ५ हजार रुपैयाँ पुर्याएको छ। गत वर्ष ६ सय रुपैयाँ कर तोकेको खुद्रा कपडा पसललाई यस वर्ष ३ सय १७ प्रतिशत बढाएर २ हजार ५ सय रुपैयाँ पुर्याएको छ।
तरकारी बिक्रेताको गुनासो
नगरपालिकाले हाटबजार लागेको दिन टोकरीमा साम्रगी बेचबिखन गर्नेलाई बैठकी स्वरुप २५ रुपैयाँ कर लिदै आएको छ। सागपात विक्रेताबाट गत वर्षसम्म ३० रुपैयाँ कर लिदै आएको नगरपालिकाले यस वर्षदेखि ३५ रुपैयाँ पुर्याएको छ।
सागपात बिक्रेतालाई समेत कर बढाएको नगरपालिकाले हाटबजारमा भने कुनै पनि सुविधा उलपब्ध नगराएको भन्दै व्यवसायी आक्रोशित बनेका छन्।
‘नगरपालिकाले वृद्धि गरेको चर्को करले व्यवसायीलाई मर्कामा पारेको छ,’ हाटबजारमा सागपात बिक्री गर्दै आएका व्यवसायी अवध विहारीले भने।
कर वृद्धिको चौतर्फी विरोध
नगरपालिकाले करको दर बढाएपछि चौतर्फी रुपमा विरोध सुरु भएको छ। स्थानीय उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्मले करवृद्धिको विरोध गर्दै तत्काल समायोजन गर्न माग गरेका छन्। करको दर बढेपछि व्यवसायीहरु मर्कामा परेको भन्दै रुपन्देही उद्योग व्यापार संगठनले नगरपालिकाका मेयरलाई ज्ञापनपत्र बुझाएको छ। संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले मेयर हरिप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल करको दर समायोजन गर्न माग गरेका छन्।
नगरपालिकाले वृद्धि भएको कर दर नघट्ने उल्लेख गरेको छ। मेयर हरिप्रसाद अधिकारीले समय सापेक्ष रुपमा कर बढाइएको दाबी गरे।
‘सामान्य व्यापारीलाई समेत ५ सय प्रतिशतसम्म करवृद्धि गगरिएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘राजस्व परामर्श समितिको बैठकमा आफूहरूले २०/२५ प्रतिशतमा मात्र करवृद्धि गर्न सुझाव दिए पनि बेवास्ता गर्दै नगरपालिकाले एकलौटी ढंगले करवृद्धि गरेको छ। यो तत्काल सच्याइनुपर्छ नत्र व्यवसायी आन्दोलनमा उत्रने बाध्य हुनेछन्।'
बढेको कर फिर्ता हुँदैन : नगरपालिका
यता नगरपालिकाले भने वृद्धि भएको कर दर नघट्ने उल्लेख गरेको छ। नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले समय सापेक्ष रुपमा कर बढाइएको बताए। टोकरीमा साम्रगी बिक्री गर्नेहरुको पनि करवृद्धि हुनु अन्यायपूर्ण भएन भनेर सोधिएको प्रश्नमा मेयर अधिकारीले भने, ‘कर बढाउने त हो नि।’
नगरपालिकाभित्र जुनसुकै व्यवसाय गरे पनि करको दायरामा ल्याइने अधिकारीले उल्लेख गरे। अहिले पनि ८० प्रतिशत करको दायराभन्दा बाहिर रहेको बताउँदै उनले करको दायरामा नआएकाहरुको खोजीका लागि सरोकारवालाले समेत सहयोग गर्नुपर्ने बताए। एक अर्को प्रसंगमा उनले मेडिकल कलेजलाई ५ हजारबाट बढाएर ५० हजार पुर्याएको याएको कर पनि कम भएको भन्दै यसलाई एकलाख पुर्याउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।