ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परी २ जना गम्भीर घाइते भएका छन्। पहिरोमा परेर १ जना सम्पर्कविहीन बनेका छन्।
पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिए। उनका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कविहीन भएका छन्। मेहेलेको मुकुभञ्ज्याङ क्षेत्रमा पहिरो गएको थियो।
घाइते भएकाको उपचारका लागि अन्यत्र लैजान हेलिकोप्टरको आवस्यकता देखिएकाले स्थानीयस्तरबाट पहल भइरहेको स्थानीयले बताएका छन्। घर नजिकै सडकमा रहेको मोटरसाइकल थन्क्याउन निस्किएका समयमा आएको पहिरोमा परी घाइते र बेपत्ता बनेको खबर आफूले पाएको स्थानीय भुपाल मंरातीले जानकारी दिए।
शनिबार साँझदेखि भएको वर्षा अझै रोकिएको छैन। मेहेले साविक ९ नम्बरका अधिकांश मानिसले आफ्नो घर छाडेर अन्यत्र सरेका छन्। तर सुरक्षित भनिएकै ठाउँ पनि भारी वर्षाका कारण जोखिममा रहेको स्थानीय कमल कडरियाले बतााए। मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा यो पटक अत्यधिक वर्षा भइरहेको छ। निरन्तरको वर्षाका कारण त्यहाँका नागरिक त्रसित भएर बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए।
मेहेलेमा शनिबार राति गएको पहिरोमा परी ३ जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव भेटिएको छ। मेहेलेमा मात्र ६ घर पूर्णरुपमा बाढी पहिरोले बगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।