काठमाडौ- अमेरिकी डलरको मूल्य इतिहासमै सर्वाधिक महंगो भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक डलर किन्न १ सय १२ रुपैयाँ ५६ पैसा खर्चिनुपर्ने भएको छ।
मंगलबार डलरको खरिद दर १ सय ११ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय १२ रुपैयाँ ५६ पैसा छ। यसअघि १ भदौमा प्रतिडलर १ सय १२ रुपैयाँ ५५ पैसा विनिमय दर रहेकोमा नेपाली रुपैयाँ थप अवमूल्यन भएको हो। मंगलबारको विनिमय दर अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ सर्वाधिक कमजोर भएको हो।
डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो। भारुसँग स्थिर विनियम दर कायम भएकाले डलरसँग भारु कमजोर हुँदा सोही दरमा नेपाली रुपैयाँ पनि कमजोर भएको हो।
पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा आएको सुधारले डलर मजबुत बन्दै गएको छ। तर, भारतीय अर्थतन्त्र कमजोर हुँदा त्यसको प्रभाव मुद्रामा परेको हो।
के पर्छ प्रभाव?
डलरको विनिमय दर उच्च हुँदा सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। हाल विदेशमा झन्डै ३३ लाख कामदार कार्यरत छन्। उनीहरूले नेपाल पठाउने उक्त पैसा डलरमा परिणत भएर आउने हुँदा त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।
यसैगरी डलर बलियो हुँदा नेपालको निर्यात बजारमा सकारात्मक प्रभाव पार्छ। डलर बलियो हुँदा निर्यातबाट हुने डलर आम्दानी बढ्छ। यसरी निर्यातबाट हुने आम्दानी बढाउन सहयोग मिल्छ।
डलरको विनियम दर उच्च हुँदा डलरधारीले खरीद गर्ने वस्तु तथा सेवा सस्तो हुने हुँदा पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्छ। आयातित वस्तुबाट हुने भन्सार संकलनमा पनि डलर महँगिँदा प्रभाव पर्छ । नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलरको भाउ उच्च हुँदा समग्र अर्थतन्त्रमा भने यसको प्रभाव नै नकारात्मक बढी हुँदै आएको छ। आयातका लागि मूलतः डलर खर्च गर्नुपर्दा आयात गरिने वस्तुको भाउ उच्च पर्न जान्छ।
डलरको विनिमय बढ्दा सरकारले विदेशबाट लिएको साँवा र ऋणको भुक्तानीमा थप भार पर्छ। सरकारले डलरमा खरीद गरेको विद्युत् आयोजनाका लागि तिर्नुपर्ने रकम पनि बढ्न जान्छ।
नेपालले ठूलो परिणाममा पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ। डलरमा खरीद गरिने पेट्रोलियम पदार्थ आयातका लागि पनि थप रकम खर्चनुपर्ने हुन्छ। ढुवानी खर्च बढ्ने भएकाले मूल्यवृद्धिको जोखिम पनि हुने गर्छ।
औषधोपचार, अध्ययन, भ्रमणलगायतका लागि विदेश जानेहरूले बढी मूल्यमा डलर खरीद गर्नुपर्दा त्यसको नकारात्मक असर पार्छ।
डलर बढ्दा मुलुकको शोधनान्तर स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।