काठमाडौं– अन्तर्राष्ट्रिय ब्रान्ड 'केल्मी' को प्रतिलिपि अधिकार उल्लंघन गरी नक्कली कपडा बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-२२ प्युखास्थित सुजन शिवम् रेडिमेड स्टोरबाट आइतबार दिउँसो २ बजे दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरुमा पर्वतको ठूलोपोखरी गाउँपालिका-३ घर भई काठमाडौं- २१ भोटेबहाल बस्ने ४४ वर्षीय सानुमाया र बारा, पिपरपाती पचरौता नगरपालिका-१ घर भई काठमाडौं-१५ चौमती बस्ने ३१ वर्षीय एमडी उमर अन्सारी रहेका छन्।
केल्मी ब्रान्डको कपडा अनधिकृत रूपमा बिक्री गरिरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त जनसेवाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको साथबाट केल्मी लेखिएका ८४ वटा ट्राउजर, ७४ वटा जम्पर, ५४० वटा हाफ र फुल टिसर्ट र १० वटा स्यान्डो प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।