बाँके– अनियमित विद्युत् सेवाविरुद्ध नागरिकहरुले आइतबार नेपाल विद्युत् प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र घेराउ गरेका छन्। बास नेपालको नेतृत्वमा विद्युत् कार्यालय घेराउ गरिएको हो। नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा बिहान ११ बजे स्थानीयहरु विरोधका लागि उपस्थित भएका थिए।
बास नेपालको नेतृत्वमा जेष्ठ ११ गते विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखलाई अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउँदासमेत विद्युत् सेवा अनियमित भएपछि आइतबार स्थानीयहरु कार्यालय घेराउन गर्न बाध्य भएका थिए।
४० डिग्री तापक्रममा गुज्रिरहेको नेपालगन्जमा विद्युत् अनियमित हुँदा स्थानीयहरु चरम मर्कामा छन्। घेराउ गर्न पुगेका स्थानीयहरुले विद्युत् अनियमितताविरुद्ध चर्को रुपमा नाराबाजी गरे।
आक्रोशित स्थानीयहरुले चर्को गर्मीमा सडकमै सुतेर विरोध जनाए र सुतेरै नाराबाजी गरे। ‘विद्युत् अयिमितता बन्द गर, गफ होइन, विद्युत् देउ, विद्युत् मनपरी बन्द गर, लोडसेडिङ तालिका देउ’ लगायतका नारा लगाएका थिए।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको कार्यक्रममा बोल्दै युवा अभियन्ता साहिल अन्सारीले नेपाल विद्युत् प्राधिकरणले गर्मी याममा विद्युत् सेवा अनियमित गरी अपराध गरेको बताए।
उनले आक्रोशित हुँदै भने, ‘नेपाल विद्युत् प्राधिकरण होइन, नेपाल अपराधिकरण हो।’ विरोध प्रदर्शनमा बोल्दै अर्का युवा अभियन्ता प्रकाश कुँवरले गैर जिम्मेवार विद्युत्विरुद्ध नागरिकहरु एक हुनुपर्ने बताए।
राजनीतिककर्मी बिनोद अग्रहरीले विद्युत् अनियमितताका कारण व्यक्तिगत सम्पत्तिमा क्षति पुगिरहेको उल्लेख गर्दै सो को क्षतिपूर्ति दिनुपर्ने बताए।सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्र जोशीले तत्काल विद्युत् नियमित नभए चर्को आन्दोलन गर्ने बताए।
नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले विद्युत् प्राधिकरणको चरम लापरबाहीले आम नागरिकहरुले सास्ती भोगेको भन्दै उक्त कार्यको चर्को आलोचना गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।