तस्बिर: सामाजिक सञ्जाल
काठमाडौं– शनिबार रातिको वर्षासँगै आएको पहिरोले घर बगाउँदा ताप्लेजुङमा एकै घरका ३ जना बेपत्ता भएका छन्।
सिदिङ्वा गाउँपालिका–६ मेहेलेका स्थानीय यादव बुढाथोकीको घर पहिरोले बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन्।
यस्तै, मेहेलेकै भरत तामाङ समेत बेपत्ता भएका छन्। खोला छेउमा रहेको घरमा बाढी पसेपछि आमाबुवालाई सुरक्षित स्थानमा सारेर फर्किने क्रममा भरत बेपत्ता भएका स्थानीय कमल कडरियाले जानकारी दिएका छन्।
सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा अिहले साब्लाखु प्रहरी चौकीको टोली पुगेको छ। वर्षा जारी रहेका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको गाउँपालिका उपप्रमुख कडरियाले जानकारी दिइन्।
बाढी र पहिरोले ताप्लेजुङका धेरैजसो सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। यस्तै, याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत् आपूर्ति समेत ठप्प भएको छ।
वर्षासँगै आएको बाढीले सिदिङ्वा गाउँपालिकाको आङ्खोपमा ३ घर बगाएको छ। इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ।
बाढी बस्तीमा बसेपछि आङ्खोपका स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा गएका छन्।
यस्तै, मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। मध्यरातमा बाढी आएपछि बजारका अधिकांश स्थानीय अन्तै सरेका छन्। बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ।
मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।