दक्षिण कोरिया– कोरिया आर्थिक विकासमा छोटो समयभित्रै अस्वाभाविक फड्को मार्ने मुलुक हो। यहाँको 'साइन्स' र 'टेक्नोलोजी' विश्वमा नै अब्बल मानिन्छ। त्यसकारण पनि यी विषयका लागि अध्ययन गर्न विभिन्न देशका विद्यार्थी कोरिया आउने गर्छन्।
अध्ययन भिसामा आउने नेपाली विद्यार्थीको संख्या पनि केही वर्षयता बढिरहेको छ। मास्टर्स डिग्री र पिएचडी अध्ययनका लागि पहिलेदेखि नै आउने गरेकोमा पछिल्ला वर्ष अन्डर ग्र्याजुएसन गर्न नेपालीहरु बढी नै आउने गरेको यहाँका प्रोफेसरहरू बताउँछन्। तर, नेपालका कन्सल्टेन्सीहरूले विद्यार्थीलाई गलत काउन्सिलिङ गरेर पठाउने गरेको हाननाम युनिभर्सिटीमा अध्यापन गराइरहेका प्रोफेसर डा ठाकुर सुवेदीले बताए।
'कोरियामा अध्ययन गर्न आउन चाहने विद्यार्थीले अन्य देशमा जस्तै विभिन्न सर्तमा सहमत भएर बुझेर आए मात्र सहज छ,' उनी भन्छन्, 'नत्र निकै जटिल छ।'
कतिपय विद्यार्थी नेपालमा राम्रो गर्दागर्दै पनि विदेश आउने इच्छा देखाउँछन्। तर कोरियामा पनि शिक्षित बेरोजगारीको संख्या धेरै भएको हुँदा काम पाउन निकै गाह्रो छ। कोरियामा नेपाली विद्यार्थीको संख्या बढेसँगै भएसँगै उनीहरूको समस्या पनि धेरै सुनिने गरेको छ। यसरी समस्यामा पर्नेहरूमा यहाँको अवस्था नबुझेरै कन्सल्टेन्सीको गलत काउन्सिलिङमा भर परेर आउने धेरै रहेको पाइएको डा सुवेदीले बताए।
कोरिया सरकारले यहाँ अध्ययन गर्ने विदेशी विद्यार्थीका लागि अध्ययन गर्दै पार्टटाइम काम गर्न पाउने समय तोकेको छ। जसअनुसार अन्डर ग्र्याजुएसनका लागि हप्तामा २० घन्टा र ग्र्याजुएटको हकमा हप्तामा ३० घन्टा काम तोकिएको छ। यदि तोकिएको समयभन्दा धेरै काम गरेर वार्षिक रुपमा ७० प्रतिशतभन्दा कम हाजिरी देखिए स्वतः नेपाल फिर्ता गराउन सक्ने अधिकार युनिभर्सिटीलाई छ।
एरोनोटिकल एन्जिनियर तथा नेपाली विद्यार्थी समाजका पूर्वसभापति विमल सुवेदी कन्सल्टेन्सीको झुटो विवरणका आधारमा लाखौं रुपैयाँ बुझाएर आएका कतिपय विद्यार्थी समस्यामा पर्ने गरेको बताउँछन्। ‘पूर्ण छात्रवृत्ति नभएका विद्यार्थीलाई भिसा नवीकरण गर्न न्यूनतम १२ हजार डलर खातामा रहेको देखाउनुपर्छ,’ उनले थपे, ‘काम नपाइने समस्याले विद्यार्थीहरु अवैधानिक हुनुपर्ने बाध्यता पनि सिर्जना भएको छ।’
यहाँ अध्ययन गरिरहेका नेपाली विद्यार्थीको मुख्य समस्या रोजगारीको नै भएको बताउँछन्, कोरियाको वनग्वाङ युनिभर्सिटीमा अध्ययन गरिरहेका रमेश परियार। कोरियन भाषाबाहेक यहाँ अन्य भाषाको प्रयोग लगभग शून्य नै छ। सरकारले अक्टोबरदेखि लागू हुनेगरी भाषामा कमजोर अर्थात् ३ लेभलभन्दा कम अंक ल्याउने विदेशी विद्यार्थीको हकमा काम गर्ने समय पनि कटौती गर्ने तयारी गरेको छ। यसले अन्य विदेशी विद्यार्थीसहित नेपालीका लागि कोरियामा अध्ययन थप जटिल बन्ने देखिन्छ।
राजधानी क्षेत्रका युनिभर्सिटीमा अध्ययन गर्नेहरुलाई भन्दा राजधानीबाहिर बस्ने विद्यार्थीलाई कामको अभाव हुने गरेको छ। नेपालमा कन्सल्टेन्सीहरुले यहाँको विषयमा गराउने गलत जानकारीका कारण पनि इपिएसमा असफल भएका कोरिया छिर्न कतिपयले विद्यार्थी भिसाको प्रयोग गर्ने गरेका छन्। 'त्यो त झनै जोखिम हो,' सुवेदीले भने, 'गलत नियतले कोरिया नआउन नै म आग्रह गर्छु।'
कोरियामा हाल एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरु विभिन्न संकायमा अध्ययनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।