काठमाडौं– कृषि विज्ञका रूपमा परिचित र आफैले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेका मदन राईलाई साढे दुई वर्ष कैद सजाय तोकिएको छ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई २ वर्ष ६ महिना कैद सजाय र एक लाख जरिवाना तोकिएको सूचना अधिकृत सुदिप कुमार भट्टराईले जानकारी दिएका हुन्।
यस कसुरमा एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश भएको हो।
भट्टराईका अनुसार इजलासले राईलाई नैतिक पतन देखिने फौजदारी कसुर गरेको पनि ठहर गरेको छ।
आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै उनी दोषी ठहर भएका थिए।
१० माघमा दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो।
मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरूलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान अघि बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।