काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची पुगेका छन्। उनीसँगै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची गएका छन्।
प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका छन्।
आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय पदाधिकारीसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम छ। विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो।
काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दिगो एवं दीर्घकालीन रुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्य स्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।