काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ। जवाफी बहसका लागि इजलासमा उपस्थित भएका सरकारी वकिलहरुले प्रतिवादी पक्षका कानुन व्यवसायीले उठाएको प्रश्नको जवाफ दिइरहेका छन्। प्रतिरक्षा बहसका क्रममा गरिएका कतिपय दाबीमा सरकारी वकिलले उल्टै प्रतिपश्न पनि गरेका छन्।
काठमाडौंका जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसका क्रममा सरकारी वकिल महेश खत्रीले अभियोगपत्रसँगै प्रतिवादीहरुको साथबाट बरामद भएको र प्रमाणका लागि पेश भएको डायरीका विषयमा जवाफ दिए। प्रतिवादीका साथबाट रकम लेनदेनको कागज फेला परेको बताउँदै खत्रीले घुस लेनदेन कपाली तमसुक गरेर प्रमाणित कपि ‘तैंले यो राख म यो राख्छु’ भनेर नराख्ने जिकीर गरे।
‘भ्रष्टाचार गर्दा कसैले पनि प्रमाण राखेर गर्दैन। घुसको लेनदेन करोडौंमा भएको छ। यसको प्रमाण प्रमाणित गरेर कुनै पनि व्यक्तिले राख्दैन,’ खत्रीले भने, ‘फलानालाई यति करोड दिएको अब पाँच लाख दिन बाँकी भनेर डायरीमा लेखेको कुरा प्रमाण नै हो। यदि त्यो प्रमाण हैन भने के म:मको डल्ला हो त ?’
उनले आरोप लागेका व्यक्तिहरुलाई धरौटी वा साधारण तारेखमा रिहा गर्न नमिल्ने जिकिर गरे। उनीहरु रिहा भएमा यो प्रकरणमा जाहेरी दिनेहरु असुरक्षित हुने खत्रीले दाबी गरे।
‘नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर प्रकारको घटना हो। यसमा अन्यमा जस्तो धरौटीमा रिहा गर्दा पीडित परिवारको रक्षा, प्रमाण नष्ट हुने र अभियोग लागेका व्यक्तिहरु शक्तिशाली भएकाले प्रमाणको सुरक्षादेखि जाहेरीकर्तासम्मको सुरक्षासम्मको कुरा आउने देखिन्छ,’ खत्रीले भने, ‘त्यसैले सबैलाई मुद्दाको फैसला नभएसम्म पुर्पक्षका लागि थुनामा पठाउनुपर्छ।’
सरकारी पक्षबाट शुक्रबार सरकारी वकिलहरु लक्ष्मण घिमिरे, दिनेश भट्टराई, निर्मला मरासिनी र महेश खत्रीलेले बहस गरे। त्यस्तै, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले पनि बहस गरे। त्यस्तै सरकारी पक्षको सहयोगका लागि वरिष्ठ अधिवक्ता धुव्रलाल प्रधान र अधिवक्ता स्वागत नेपालले पनि बहस गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।