काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशका लागि छुट्टै कोर्स बनाएर त्यो पास गरेमा मात्रै नियुक्त हुनसक्ने व्यवस्था गर्न खोजिएको बताएका छन्। उक्त व्यवस्था लागू भएमा न्यायाधीशका विषयमा आउने ५० प्रतिशत गुनासो त्यहीँ समाधान हुने बताएका छन्।
उनले उक्त कोर्सको आरम्भ भएपछि न्यायाधीश नियुक्तिमा ठूलो फड्को मार्ने बताएका छन्। संसदीय सुनुवाइका क्रममा सांसदले सोधेको प्रश्नमा जवाफ दिँदै कार्कीले भने, ‘जुडिसियल एकेडेमीले एउटा कोर्स बनाउँदैछ। हामीले न्यायाधीश नियुक्ति हुनका लागि पढ्नुपर्नेर कोर्स बनाउँ भनेका छन्। त्यो कोर्स गरेको मात्रै न्यायाधीश बनाउनुपर्ने हुन्छ। त्यही क्रममा न्यायाधीशको अनुशासन, निष्ठा, इमान र क्षमता समावेश हुन्छन्। न्यूनतम अंक ल्याउनेहरु मात्रै पास हुन्छन्। अहिले न्यायाधीशमा उठ्न सक्ने प्रश्नको ५० प्रतिशत त्यहीँबाट सुधार हुन्छ।’
उनले आफू अवकाश हुनुअघि नै उक्त कोर्स अफ स्टडी आफूले लागू गर्ने चाहेको बताए। कम्तीमा पास गर्नेगरी तयार गर्न आफूले भनेको कार्कीले बताए।
यसैगरी अदालतमा मुद्दाको चाङ लाग्नुको कारण कानुनी र संवैधानिक विषयले काम गरेको कार्कीको भनाइ छ। त्यसकारण अधिकार क्षेत्र पुनरावलोकन गर्नुपर्ने प्रस्ताव आफूहरुले गरिरहेको उल्लेख गरे। उनले भने, ‘धेरै मुद्दा जिल्ला अदालतलाई नै दिनुपर्यो। ठूला-ठूला मुद्दा त्यहाँ हेरिएकै छन्। त्यसैले अन्य पनि दिनुपर्छ। कम्तीमा एक तह पारेर गरेर आएमा सर्वोच्च अदालतको ५० प्रतिशत लोड कम हुन्छ। त्यस विषयमा अध्ययन भइरहेको छ।’
चेक अनादर र साइबर क्राइमका मुद्दा जिल्लामै चल्नेगरी विधेयक निर्माण भइरहेको उनले जानकारी दिए। उनले थपे, ‘अन्य पनि छन् जुन जिल्लामा लैजानुपर्छ। समिति बनाएर अध्ययन गरिसकेका छौं। यो मेरै कार्यकालमा फुल कोर्टमा राखेर पारित गरेर विधेयक आयो भने लोड कम गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।