काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’को विवाद सिर्जना हुनुमा विदेशी फिल्मका वकालतकर्ता जिम्मेवार रहेको बताएका छन्।
विदेशी फिल्मको सेन्सरका सन्दर्भमा बोर्डले ल्याएको नियमको विरोध गरिएको भन्दै अध्यक्ष केसीले अहिले ‘आदिपुरुष’को संवादलाई लिएर भएको विवाद त्यसकै उपज भएको बताएका छन्।
‘कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याइ प्रदर्शन गर्दा महिना दिन अगाडि सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो। विरोधका बाबजुद कम्तीमा ७ दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केही चल्तापुर्जाहरुलाई ऐठन भयो र ३ दिनमा झारियो। ३ दिनको कुरामा पनि विरोध हुन छोडेको छैन,’ केसीले सामाजिक सञ्जालमा लेखेका छन्।
विदेशी फिल्मको रिलिजभन्दा केही दिन अगाडि नै सेन्सर गर्नुपर्ने निर्णय नेपाली चलचित्रको पक्षमा रहेको पनि केसीले उल्लेख गरेका छन्।
केसीले सामाजिक सञ्जालमा लेखेका छन्– कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याइ प्रदर्शन गर्दा महिना दिन अगाडि सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो। विरोधका बाबजुद कम्तीमा ७ दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केही चल्तापुर्जाहरुलाई ऐठन भयो र ३ दिनमा झारियो। ३ दिनको कुरामा पनि विरोध हुन छोडेको छैन।
नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका बिषयमा कुनै विवाद सिर्जना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरुमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधीनता, हाम्रा विभूतिहरुमाथिको दाबी, सीमा लगायत बिषयमा त्रुटि वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको थियो। र, नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभइ राष्ट्रको पहिचान समेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेको मध्ये एक केही दिन अगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि थियो।
पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद सिर्जना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाइदा गरेको छैन। यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरुकै प्रमुख हात छ। यस प्रकारको घटनाले भोली हल संचालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो? तसर्थ, बोर्डले गरेको निर्णय आत्मसात गरेको भए आज यो दिन आउने नै थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।