काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतमा गत बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस थालेका थिए।
शुक्रबार सरकारी पक्षबाट सरकारी वकिलले जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि सम्भवत: शुक्रबार नै काठमाडौं जिल्ला अदालतले थुनछेक आदेश सुनाउनेछ।
सरकारी वकिलहरुले प्रतिवादीका कानुन व्यवसायीले उठाएका प्रश्न र न्यायाधीशको जिज्ञासलाई सम्बोधन गर्दै शुक्रबार बहस गर्नेछन्। यसअघि सरकारी पक्षबाट सरकारी वकिलहरुले आइतबारदेखि बुधबारसम्म बहस गरेका थिए।
नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कार्यालय काठमाडौंले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। उनीहरुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट करोडौं रकम उठाएको दाबी अभियोगपत्रमा छ।
अभियोग पत्रमा उनीहरुलाई ठगी, संगठित अपराध, राज्य विरुद्धको अपराधसहित ५ अभियोग लगाएको छ। शुक्रबार सरकारी पक्षको जवाफपछि इजलासले थुनछेक आदेश सुनाउने छ।
इजलासले अभियोग पत्रसँगै पेस भएका प्रतिवादीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने निर्णय गर्ने छ। अदालतले उनीहरुलाई थुनामा पठाएमा उनीहरु फैसला नभएसम्म थुनामै बस्नु पर्ने छ। जिल्लाको फैसलाविरुद्ध उच्च र सर्वोच्च जाने बाटो भने खुला नै हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।