काठमाडौं– नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १ जना किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ का १८ वर्षीय विनोद सुनार छन्।
१ जना पीडित नाबालिकाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्यूरोले सुनारलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार कोरोना महामारीको जोखिम रोक्न जारी लकडाउनका बेला अनलाइन कक्षा लिन खोलेको सामाजिक सञ्जालको ग्रुपका माध्यमबाट नजिकिएकी किशोरीलाई सुनारले सामाजिक सञ्जालमा नै फ्रेन्ड रिक्वेस्ट पठाएका थिए।
अनलाइन वार्ताका क्रममा नै सुनारले ती किशोरीसँग प्रेम प्रस्ताव पनि राखेका थिए। पछि गोप्य अंग देखाएर भिडियोकल गर्न दबाब दिएपछि आफूले सामाजिक सञ्जालको प्रोफाइल ब्लक गर्दा सुनारले आफ्नो नाममा नक्कली प्रोफाइल बनाएर आफ्नो तस्बिरहरु अन्य अश्लील तस्बिर र भिडियोमा जोडेर चरित्रहत्या गरेको भन्दै पीडित किशोरीले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
पीडितको उजुरीका आधारमा साइबर ब्यूरोको टोलीले सुनारलाई पक्राउ गरेको हो। पक्राउ परेका सुनारमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान अगाडि बढाइएको साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पशुपति कुमार रायले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।