काठमाडौं– जिल्ला प्रहरी कार्यालय लमजुङले १ लाख १ हजार ६२५ रुपैयाँसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ। लमजुङ दोर्दी गाउँपालिका–४ शेरास्थित ए वान रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो।
शेरास्थित पर्शुराम गुरुङको रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा दोर्दी गाउपालिकाका लिलबहादुर गुरुङ, राम अधिकारी, निलबहादुर गुरुङ, प्रेमकुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङसहित ७ जना छन्।
पक्राउमा परेकाहरुले अनलाइन (मोबाईल बैंकिङ) बाट रकम भुक्तानी गरेको देखिन आएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।