दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गत सोमबार प्यूठान जिल्लाको भिंग्री नजिकै स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्कने क्रममा कार दुर्घटनामा परी निधन हुनेहरुप्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
बुधबार प्रकाशित एक शोक वक्तव्यमा मुख्यमन्त्री चौधरीले दैनिकजसो भैरहने सवारी दूर्घटना न्यूनीकरणका लागि प्रदेश सरकार तत्पर रहेको बताउँदै प्रदेश सरकारले दुर्घटना न्यूनीकरणका लागि थप विशेष कार्यक्रम सञ्चालनको तयारी गरिरहेको पनि जनाएका छन्।
गत सोमबार एकाबिहानै लु १ च ६३४५ नम्बरको कार सडकबाट तल भीरमा खस्दा चार बालबालिकासहित कारमा सवार सबैको निधन भएको थियो। मोटर चालक तथा सबै यात्रुहरु दाङका बासिन्दा थिए।
नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा परी ५३८ जनाको ज्यान गएको थियो, जुन नेपालमै दोश्रो सबैभन्दा बढी हो। सोही अवधिमा मधेश प्रदेशमा सवारी दुर्घटनामा सबैभन्दा बढी (५८५ जनाको) ज्यान गएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।